फिल्म । गत होलीलाई लक्षित गर्दै फागुन २९ देखि प्रदर्शन भएको फिल्म ‘आउट ल : दफा २१९’ले दर्शकबाट राम्रो साथ पाएको निर्माण पक्षले बताएका छन् । हाल पश्चिमदेखि पुर्वको यात्रा गर्दै देश दौडाहामा रहेका फिल्म युनिटले बुटवलमा दर्शकसँग साक्षत्कार गरेका थिए । सो क्रममा निर्माता अमित अग्रहरीले दर्शकको साथ निर्माण समूह उत्साहित रहेको प्रतिक्रिया दिए । उनले फिल्मको कथावस्तु अनुसार आगामी सिक्वेल आउन सक्ने सङ्केत समेत गरे ।
अभिनेता सुशील श्रेष्ठ आफूले दर्शकबाट पाएको मायाले कृतज्ञ भएको बताए । उनले भने,‘दर्शकले दिनुभएको मायालाई म शब्दमा व्यक्त गर्न सक्दिन्, मैले गरेको मेहनतको फल पाएँको छु । हेर्ने सबैले मन पराउनुका साथै तारिफ गर्नुभएको छ ।’
फिल्मका निर्देशक विक्की महर्जनले दफा २ सय १९ सँग जोडिएको बलात्कारको विषयमा उठान गरेको बताई । उनले एक्सन विधा रुचाउने दर्शकले नयाँपन पाउनेमा जोड दिए । फिल्ममा नरेश पौडेल, शिक्षा सङ्ग्रौला, सुमन भण्डारी लगायतका कलाकारको अभिनय रहेको छ ।










