फिल्म । नेपाली भाषा, संस्कृति र पहिचानको जगेर्ना गर्ने उद्देश्यले बनेको फिल्म हो, ‘यो मन त मेरो नेपाली हो’ । भुटानबाट नेपाल हुँदै अमेरिका पुगेका नर प्रधान (मित्र) को लेखन र निर्देशन रहेको यो फिल्मले विश्वभर छरिएका नेपालीहरूको कथा र भावनालाई चित्रण गर्छ ।
लेखक प्रधान १७ वर्षअघि नेपाल छाडेर अमेरिका गएका थिए । भुटानमा जन्मिएका उनको बाल्यकाल र शिक्षादीक्षा नेपालमै भएको थियो । अमेरिकाको व्यस्त जीवनले नेपाली संस्कृतिसँगको सम्बन्धमा दूरी बढाएको अनुभव गरेपछि उनले यो फिल्म बनाए ।
‘हाम्रो भाषा र संस्कृति जोगाएनौं भने भावी पुस्ताले यो धरोहर गुमाउनेछ’, उनले भने । यो फिल्मलाई नेपालको पाठ्यक्रम विकास केन्द्रले विद्यालयस्तरका बालबालिकालाई देखाउन उपयुक्त ठहराएको छ, जसले उनलाई थप प्रेरणा मिलेको छ ।
फिल्मले भुटानबाट खेदिएका नेपालीहरूको कथालाई विशेष रूपमा उठाए पनि यो विश्वभरका नेपालीहरूको साझा भावनालाई समेट्छ । ‘यो फिल्म नेपालीहरूका लागि मात्र होइन, विदेशीहरूलाई पनि हाम्रो संस्कृति बुझाउने प्रयास हो’, निर्देशक प्रधानले भने । अमेरिकामा चार स्थानमा प्रदर्शन गर्दा दर्शकहरूले नेपाली भाषा र संस्कृति संरक्षणमा जोड दिएको उनले बताए ।
‘यो फिल्म एउटा अभियान हो । हाम्रा पूर्खाले जोगाएको सम्पदा भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्छ’, उनले थपे । विदेशमा रहेका नेपालीहरूले व्यस्तताका कारण भाषा र संस्कृति बिर्सँदै गएको उनको अनुभव छ । यो फिल्मले नेपालीपनप्रति माया र एकताको सन्देश दिन खोज्छ । निर्देशक प्रधानले यो फिल्मलाई व्यावसायिकभन्दा पनि सांस्कृतिक उपहारको रूपमा लिएका छन् ।
‘यो मेरो र मेरो टिमको तर्फबाट संसारभरका नेपालीहरूका लागि उपहार हो’, उनले भने । यो फिल्म विशुद्ध नेपाली भाषा तथा संस्कृतिमा आधारित रहेकाले यस्ता प्रकृतिका फिल्मलाई राज्यका निकाय तथा सरोकारवाला सामाजिक सङ्घसंस्थाहरूले संरक्षण तथा संवर्द्धन गर्नुपर्ने केन्द्रले पठाएको पत्रमा उल्लेख छ। देश र जनताप्रति उत्तरदायी भूमिका निर्वाह गर्दै एउटा सार्थक देशभक्तिपूर्ण फिल्म बनाएकोमा केन्द्रले निर्माण टिमलाई धन्यवाद ज्ञापन गरेको छ ।
यो फिल्ममा मित्र प्रधान (नर) को निर्देशन रहेको छ । यसमा विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, विजिता परियार लगायतले अभिनय गरेका छन् ।











