ओटीटी । नेपालमा आएको आकस्मिक बाढीले ठूलो विनाश निम्त्याएको छ । बाढीबाट हजारौँ मानिस प्रभावित भएका छन्, जसमा थुप्रै भारतीय नागरिकसमेत परेका छन् । यही बाढीका क्रममा भारतीय अभिनेत्री मानसी पारेख जोगिन सफल भएकी छन् ।
हाल कैलाश मानसरोवर यात्रामा रहेकी मानसी नेपालमा बाढी आएको खबर सार्वजनिक भएपछि प्रशंसकहरू उनको सुरक्षालाई लिएर चिन्तित भएका थिए । यद्यपि, उनले आफू पूर्ण रूपमा सुरक्षित रहेको जानकारी दिएकी छन् । उनले माउन्ट कैलाश यात्राका केही तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्दै आफू सुरक्षित रहेको बताएकी हुन् ।
मानसीका अनुसार हाल उनी चीनको एक होटलमा बसिरहेकी छन्। मानसरोवरको किनारमा ध्यान गरेपछि उनले कैलाश पर्वततर्फको यात्रा सुरु गरेकी हुन्। सामाजिक सञ्जालमा सार्वजनिक गरेको एक भिडियोमा उनी घोडा चढेर माउन्ट कैलाशतर्फ प्रस्थान गरिरहेको देखिन्छ। भिडियोमा उनले सामान्य खाना खाएको तथा सहयात्रीहरूसँग रमाइलो समय बिताएका दृश्यसमेत समेटिएका छन्।
मानसीले भिडियोको क्याप्सनमा तिब्बती संस्कृतिबारे उल्लेख गर्दै लेखेकी छन्, ‘तिब्बती संस्कृति अनुसार ‘इयर अफ द हर्स’मा कैलाशको पैदल यात्रा गर्नु १३ पटक यात्रा गर्नु बराबर मानिन्छ। यो वर्ष र यो यात्रा मेरो मनमा सधैँ विशेष रहनेछ।’
‘इयर अफ द हर्स’ प्रत्येक १२ वर्षमा एकपटक आउने मान्यता छ। ‘हिन्दुस्तान टाइम्स’सँगको कुराकानीमा मानसीले नेपालमा आएको बाढीबाट आफू कसरी जोगिन सफल भएको भन्नेबारे बताएकी छन् । बाढी आएको दिन उनी र उनका सहयात्रीहरू बसमार्फत नौदाना गइरहेका थिए। त्यहाँबाट उनीहरू अध्यागमन भवन पुग्नुपर्ने थियो।
उनले भनेकी छन्, ‘हामी त्यहाँ जान लागेका थियौँ, तर अहिले त्यो भवन नै बाँकी छैन। हामी केवल २४ घण्टाको फरकले जोगियौँ। त्यहाँ हामी पनि हुन सक्थ्यौँ।’ उनका अनुसार ईशा फाउन्डेसनको तीर्थयात्री समूहबाट मात्रै ८० जना मानिस बेपत्ता भएका छन्। मानसी आगामी सेप्टेम्बर १० मा नेटफ्लिक्समा रिलिज हुने वेब सिरिज ‘चुम्बक’मा देखिँदैछिन्।











