‘लाज शरणम्’ द्वारा विद्यालयलाई सहयोग

फिल्म । फिल्म ‘लाज शरणम्’ले प्रदर्शनको १०१औँ दिन पूरा गरेको अवसरमा निर्माण टोलीले सामाजिक कार्य गरेको छ । टोलीले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा रहेको श्री बालकल्याण आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई सहयोग प्रदान गरेको हो । मदर किड्स फाउन्डेसन नेपालको आयोजनामा फिल्मका निर्माता नवीन श्रेष्ठले विद्यार्थीहरूलाई ३० थान स्कुल ड्रेस, झोला र पानी पिउने बोतल हस्तान्तरण गरे ।

कार्यक्रममा बोल्दै निर्माता श्रेष्ठले भने, ‘फिल्म ‘लाज शरणम्’को गौरवमय १०१औँ दिनको उपलक्ष्यमा हामीले विद्यार्थीहरूलाई सहयोग गरेका छौँ । यो अवसरका लागि आयोजक मदर किड्स फाउन्डेसन नेपाल र एसीके केटीएम सिन्धु चौतारा सिटीलाई धन्यवाद दिन चाहन्छु । हामी आगामी दिनमा पनि यस्ता सामाजिक कार्यमा सहकार्य गर्दै जानेछौँ ।’

कुमार कट्टेलद्वारा निर्देशित फिल्म ‘लाज शरणम्’ गत वर्षको शिवरात्रि अर्थात् फागुन १४ गतेदेखि सार्वजनिक प्रदर्शनमा आएको थियो । फिल्मले काठमाडौंको न्युरोडस्थित रञ्जना सिनेप्लेक्स र गोंगबुस्थित विएसआर मुभिजमा सफलतापूर्वक प्रदर्शनको १०१ दिन पूरा गरेको हो । यो फिल्म गत वर्ष कात्तिक १५ गते रिलिज भएको ‘पूर्णबहादुरको सारङ्गी’ पछि १०१ दिन मनाउने पहिलो नेपाली फिल्म बनेको छ ।

फिल्ममा सीताराम कट्टेल, विजय बराल, अर्पण थापा, महेश त्रिपाठी, मुकुन्द श्रेष्ठ, विजय लामा, रेणुनाथ योगी, सागर लम्साल, हरि निरौला, अर्जुन घिमिरे, कमलमणि नेपाल, प्रियाना आचार्य, दयाहाङ राई र बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय छ । निर्देशक कुमार कट्टेल ‘जिग्री ब्रो’ पनि फिल्ममा विशेष भूमिकामा देखिएका छन् ।

जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सिर्जना खड्का सह-निर्माता हुन् । आफ्नो पहिलो फिल्मले पाएको माया र हौसलाले आफूलाई थप उत्साहित बनाएको निर्माता श्रेष्ठले बताए ।

यसै अवसरमा उनले आफ्नो आगामी प्रोजेक्टको पनि घोषणा गरेका छन् । उनले ‘पाँच पाण्डव’ नामक नयाँ फिल्म निर्माण गर्ने तयारी गरिरहेको जानकारी दिए । सुशील पौडेलले पटकथा लेखिरहेको उक्त फिल्मलाई वसन्त निरौलाले निर्देशन गर्नेछन् र यसको छायाङ्कन आगामी भदौ महिनातिर सुरु गर्ने तयारी छ । साथै, निर्माता श्रेष्ठले ‘लाज शरणम् २’ को पनि तयारी भइरहेको जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्