फिल्म । आगामी जेठ २३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘जन्ते बाख्रो’ को निर्माण टोलीले प्रचारप्रसारमा नौलो र आकर्षक शैली अपनाएको छ । फिल्मको नामलाई नै ब्रान्डिङ गर्ने उद्देश्यले विभिन्न सहरमा ‘बोकाको मुकुट’ लगाएर प्रचार गरिएकोमा शनिबार काठमाडौंमा एक भव्य सांगीतिक कार्यक्रम आयोजना गरियो । विवाहको शैलीमा आयोजना गरिएको उक्त कार्यक्रममा अभिनेत्री गरिमा शर्मा पञ्चेबाजाको धुनसँगै बग्गीमा चढेर कार्यक्रम स्थल पुग्दा माहोल उत्सवमय बनेको थियो ।
सामाखुसीस्थित सिटी स्क्वायर मलमा आयोजित ‘जन्ते बाख्रो साँझ’मा अभिनेत्री शर्मा मुख्य आकर्षणको केन्द्र बनिन् । कार्यक्रममा चर्चित गायक महेश काफ्ले, गायिका अस्मिता अधिकारी र गायक तथा संगीतकार बाबुल गिरीले फिल्ममा समावेश गीतहरू ‘घामै राजा’, ‘अङ्गुरको झुप्पो’ र ‘मुकु मुकु म्या’ प्रस्तुत गर्दा उपस्थित हजारौं दर्शकले नाचेर साथ दिएका थिए । कार्यक्रममा फिल्मका प्रमुख अभिनेता आसिफ शाह पनि उपस्थित थिए ।
सिमोस सुनुवारको निर्देशनमा बनेको यो फिल्म प्रेम, कमेडी तथा सामाजिक कथावस्तुमा आधारित छ । फिल्ममा आसिफ शाह र गरिमा शर्माका साथै सौगात मल्ल, लोकेन्द्र लेखक, विशाल पहाडी, रमा थपलिया, रमेश शाह, कमल देवकोटा, रुषा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम र कुशल गजमेर लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
मुईन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको ‘जन्ते बाख्रो’ लाई सन्तोष गौतमले निर्माण गरेका हुन् भने यसको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । फिल्ममा हरि हुमागाईंको छायांकन निर्देशन, उत्तम हुमागाईंको छायांकन तथा सुनिल शिवभक्तिको सम्पादन रहेको छ ।
‘जन्ते बाख्रो’को अर्थ विवाहमा बेहुली पक्षले जन्तीलाई र बेहुला पक्षले बेहुली भित्र्याएपछि गाउँलेलाई खुवाइने भोज हो । तर, पछिल्लो समय पार्टी प्यालेसमा विवाह भोज गर्ने चलनले यो परम्परा लगभग लोप भइसकेको छ । यही लोपोन्मुख संस्कृतिलाई फिल्मले कसरी प्रस्तुत गर्छ भन्ने कुरा भने प्रदर्शनपछि नै थाहा हुनेछ ।












