फिल्म । ‘केजीएफ’ शृंखलामार्फत यश आफू मात्र चिनिएनन्, आफ्नो कन्नड फिल्म उद्योगलाई पनि चिनाए । उनै यश नयाँ फिल्म ‘टक्सिक’ मा देखिदैछन् । फिल्ममा यश अभिनेतासँगै निर्माता र संवाद लेखकका रुपमा पनि छन् । अर्थात् उनले आफूलाई अभिनयसँगै अन्य विधामा समेत सक्रिय बनाएका छन् । पछिल्लो जन्मदिनमा निर्माण पक्षले उनको एक मिनेट लामो भिडियो सार्वजनिक गरेको थियो, जहाँ उनी ‘रोयल लुक्स’मा प्रस्तुत छन् ।
आगामी जन्मदिनमा ट्रेलर वा टिजर आउने चर्चाकै बीच यशले आफ्नो फिल्मका सुन्दरीलाई चिनाई रहेका छन् । उनले नयनतारा, हुमा कुरेसी, कियारा आडवानी, तारा सुतारिया, रुक्मिणी वसन्तलाई भिन्न लुक्समा प्रस्तुत गरिरहेका छन् । यी सुन्दरीहरूको सार्वजनिक पोस्टरमा सुन्दरतासँगै त्यस भित्रको अध्यारोलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
विशेष गरी फिल्म आगामी मार्च १९ मा प्रदर्शन हुने घोषणा गरिएको छ । सोही दिन बलिउडको फिल्म ‘धुरन्धर २’ पनि प्रदर्शन हुँदैछ । भारतमा पछिल्लो समय ब्लकबष्टर सावित भएको ‘धुरन्धर’ को सिक्वेलसँग यश भिडन्त गर्न चाहेका छन् । यशको प्रोडक्सन हाउस मोन्स्टर माइन्ड क्रिएशन्सको ब्यानरमा निर्माण भएको फिल्मलाई गीतु मोहनदासले निर्देशन गरेकी हुन् ।











