फिल्म । साइकोलोजिकल थ्रिलर जनराको फिल्म ‘द ब्लू लाइट’ को छायांकन सम्पन्न भएको छ । जेठ २२ बाट काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सुरु भएको छायांकन २५ दिनमा पूरा भएको हो । यो फिल्मलाई बलिराम चौहानले निर्देशन गरेका छन्।
स्काइफल पिक्चर्सद्वारा निर्मित यो फिल्ममा बेनिशा हमाल, अर्पण थापा, महेश त्रिपाठी, आयुष्मान देशराज जोशी, सृष्टि श्रेष्ठ र सुरक्षा इटानी मुख्य भूमिकामा छन् । बाल कलाकारका रूपमा ग्रिसमा कटुवाल र सहारा शर्माले अभिनय गरेका छन् ।
फिल्मको थिम पोस्टर र फर्स्टलुक पोस्टर यसअघि नै सार्वजनिक भइसकेका छन् । ‘हामीले कथालाई जीवन्त बनाउन सफल भएका छौं । कलाकारहरूको अभिनयले कथालाई जीवन्तता दिएको छ । अब पोस्ट-प्रोडक्सनको काम अघि बढ्छ, र हामी दर्शकलाई उत्कृष्ट फिल्म पस्कने छौं’, निर्देशक चौहानले भने ।
फिल्मका सह-निर्माता रमन ग्रे छन्, भने कार्यकारी निर्मातामा छायाकार नरेन्द्र मैनाली र अभिनेत्री बेनिशा हमाल छन् । छायांकन मैनालीले नै गरेका हुन् ।आकाश उखेडा मुख्य सहायक निर्देशक, रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर र दिलीप पन्त निर्माण नियन्त्रकको भूमिकामा छन् ।










