श्रद्धाले किन छाडिन् फिल्म ?

फिल्म । बलिउड अभिनेत्री श्रद्धा कपूर निर्माता एकता कपूरको आगामी फिल्मबाट बाहिरिएको खबरले फ्यानहरूलाई निराश बनाएको छ । राही अनिल बर्वेले निर्देशन गर्न लागेको यो फिल्मका लागि श्रद्धाले १७ करोड भारु पारिश्रमिक र नाफाको हिस्सा मागेको बताइएको छ । तर, पारिश्रमिकमा कुरा नमिल्दा उनले फिल्म छोड्ने निर्णय गरेको समाचार भारतीय मिडियामा उल्लेख छ ।

‘स्त्री २’ को अपार सफलतापछि श्रद्धाका फ्यानहरू उनको अर्को प्रोजेक्टको व्यग्र प्रतीक्षामा छन् । केही समयअघि उनी एकता कपूरको निर्माण र राही अनिल बर्वेको निर्देशनमा बन्ने फिल्ममा जोडिने चर्चा चलेको थियो । तर, पिपिङमुनको समाचारअनुसार श्रद्धाले मागेको उच्च पारिश्रमिकका कारण एकताले यो रकम महिलाप्रधान फिल्मको बजेटका लागि उपयुक्त नभएको बताएकी छन् । श्रद्धाको मागले फिल्मको बजेट बढ्ने उनको भनाइ छ ।

श्रद्धा फिल्मबाट बाहिरिएपछि निर्माताहरूले अर्की चर्चित अभिनेत्रीसँग कुराकानी शुरू गरेको खबर आएको छ । यद्यपि, ती अभिनेत्रीको नाम अझै खुलाइएको छैन । यता, श्रद्धा हाल ‘स्त्री ३’ को तयारीमा छिन्, जुन सन् २०२७ को अगस्ट १३ मा रिलिज हुने तय भएको छ । ‘स्त्री २’ मा उनको साथमा राजकुमार राव, अपारशक्ति खुराना, पंकज त्रिपाठी र अभिषेक बनर्जीको अभिनयले बक्स अफिसमा तहल्का मच्चाएको थियो । यो फिल्मले व्यावसायिक र समीक्षात्मक रूपमा उत्कृष्ट प्रदर्शन गरेको थियो । श्रद्धाको यो निर्णय र एकता कपूरको फिल्मको आगामी कदमले बलिउडमा नयाँ चर्चा शुरू गरेको छ ।

कमेन्ट गर्नुहोस्