क्रिस्टन र डायलनले गरे विवाह

हलिउड । ओस्कार मनोनित अभिनेत्री क्रिस्टन स्टिवर्ट र स्क्रिनराइटर डायलन मेयर अन्ततः विवाह बन्धनमा बाँधिएका छन् । पाँच वर्षभन्दा लामो प्रेम यात्रापछि उनीहरूले गत आइतबार लस एन्जलसको सिल्भर लेकस्थित कासिटा डेल क्याम्पो रेस्टुरेन्टमा आयोजित एक गोप्य समारोहमा विवाह गरे ।

सन् २०२१ को नोभेम्बरमा इन्गेजमेन्टको घोषणा गरेका यो जोडीले, तीन वर्षभन्दा बढी समयपछि वैवाहिक जीवन सुरु गरेका हुन् । समारोहमा अभिनेत्री एश्ले बेन्सन र उनका पति ब्रान्डन डेभिस समेत सहभागी थिए ।

स्टिवर्ट हल्का खैरो टोनको सर्ट र मिनी स्कर्टमा देखिइन् भने मेयरले सेतो पारदर्शी टप, स्कर्ट र कालो रिबनले सजिएको कपालमा सजिएर सबैको ध्यान ताने । विवाह समारोहका तस्वीरहरूमा दुवै नवविवाहित जोडीलाई खुसीसाथ अँगालो हाल्दै र औँठी साट्दै देख्न सकिन्छ ।

स्टिवर्ट र मेयरबीचको पहिलो भेट सन् २०१३ मा भएको भए पनि, उनीहरूको प्रेमको सुरुवात भने २०१९ को एक निजी पार्टीबाट भएको थियो । सन् २०२१ मा स्टिवर्टले प्रसिद्ध हावर्ड स्टर्नको शोमा भनेकी थिइन्,‘म प्रस्तावको पर्खाइमा थिएँ, मैले आफू चाहेको कुरा खुलस्त भनेँ र डायलनले त्यो पूरा गरिन्।’

उनीहरूले समलैंगिक सम्बन्धमा पारंपरिक लैङ्गिक भूमिकाको अस्पष्टता र स्वतन्त्रता पनि खुलेर साझा गरेका छन् ।

कमेन्ट गर्नुहोस्