फिल्म । गत फागुन २९ गते फागु पूर्णिमाको अवसर पारेर प्रदर्शनमा भएको नेपाली फिल्म ‘अञ्जिला’ चौथो हप्ता प्रवेश गरेको छ । नेपाली महिला राष्ट्रिय महिला फुटवल टिमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित फिल्म काठमाडौँसँगै मोफसलमा समेत भिडभाडका साथ प्रदर्शनरत छ । निर्माण पक्षले चौथो सातामा एकसय ४० शो पाएको जनाएका छन् ।
‘अञ्जिला’ले भारतीय अभिनेता सलमान खान अभिनीत फिल्म ‘सिकन्दर’लाई समेत नेपाल रिलिजमा धक्का दिएको छ । नेपाली दर्शकको रोजाइमा ‘अञ्जिला’ परिरहेको कारण हल सञ्चालकहरू ‘सिकन्दर’को शोहरू खाली भएको बताउँछन् ।
दर्शक भेट्न नेपाल आइपुगेकी कप्तान सुब्बाले काठमाडौँ, धरान, इटहरी, झापा, विराटनगर, पोखरा र नेपालगन्ज लगायतका स्थानमा दर्शकसँग भेटघाट गर्दै ‘अञ्जिला’ हेर्न आमन्त्रण गरिरहेकी छिन् ।
यसमा प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ ।











