‘मख्खै परेँ’ मा कौडा नृत्य गर्दै दयाहाङ र खगेन्द्र

फिल्म । नेपाली फिल्म ‘महाभोज’को पहिलो गीत ‘मख्खै परेँ’ सार्वजनिक भएको छ । कौडा भाकाको यस गीतमा सुरेन्द्र दियालीको शब्द रचना, प्रशान्त सिवाकोटीको स्वर तथा सङ्गीत रहेको छ भने ससिका राईले स्वरमा साथ दिएकी छन् । सार्वजनिक गीतको भिडिओमा दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ र मलिका महतले कौडा नृत्य गरिरहेका छन् ।

यसका साथै अभिनेता आर्यन सिग्देल र अभिनेत्री सुरक्षा पन्तको आकर्षक उपस्थिति रहेको छ । आर्यनलाई गाउँको सभ्रान्त व्यक्तिको रूपमा प्रस्तुत गरिएको छ भने सुरक्षा उनकी पत्नीको भूमिकामा देखिएकी छन् । भिडियोको अन्त्यमा मलिका र खगेन्द्र छापामारको पोसाकमा देखिन्छन्, जसले फिल्मको विषय र कथालाई रहस्यमय बनाएको छ । गीतका कोरियोग्राफर मौसम हिमाली हुन् ।

दिनेश राउतको निर्देशनमा बनेको ‘महाभोज’ मा विकास सुवेदीको स्क्रिप्ट लेखन रहेको छ । यस फिल्ममा वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाह लगायतका कलाकारहरूको अभिनय रहेको छ । क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त निर्माणमा तयार भएको यस फिल्मका निर्माता हिमाल कडरिया हुन् ।

कमेन्ट गर्नुहोस्