फिल्म । आगामी असोज ३१ गतेदेखि रिलिज हुने फिल्म ‘जेरी: अन टप’को तेस्रो गीत ‘आमैले भन्थे’ लाई दर्शकले रुचाएका छन् । डान्सिङ बिटमा तयार यो गीतमा विराज गौतम, राजेश पायल राई र अनु ढकालको स्वर छ भने व्रिजेश श्रेष्ठ र विराज गौतमको शब्द र संगीत समावेश छ । गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू अनमोल केसी, भुवन केसी, आँचल शर्मा, केदार प्रसाद घिमिरे र उषा खडगीले नृत्य गरेका छन् ।
अनमोल र आँचलको जोडीले गीतमा उत्कृष्ट नृत्य प्रस्तुत गरेका छन्, जसमा उनीहरूको लोभलाग्दो केमेस्ट्री देखिन्छ । अनमोलको नृत्यमा गरेको मिहिनेत भिडियोमा स्पष्ट झल्किन्छ । फिल्ममा भविष्य खड्का, रोविन शेरचन, रामकृष्ण श्रेष्ठ, दीपक भण्डारी र अनन्या न्यौपानेको लगानी छ भने अनिरुद्र गिरी र ईश्वर श्रेष्ठ कार्यकारी निर्माता छन् ।
सुयोग गुरुङद्वारा निर्देशित यो फिल्ममा निमेष श्रेष्ठको सम्पादन र किरण थापाको कोरियोग्राफी छ । विश्वास तिम्सिनाको पटकथा रहेको फिल्ममा नविन घिमिरे र विवेक थापा सह-निर्माता, मोती कार्की क्रिएटिभ निर्माता छन्।सरोज न्यौपानेको प्रस्तुतिमा अनन्या फिल्म्सको ब्यानरमा निर्मित यो फिल्ममा जसिता गुरुङ, निर्मल शर्मा लगायतका कलाकारको अभिनय छ । दर्शकका लागि अनमोल, आँचल र जसिताको त्रिकोणात्मक प्रेम, भुवन केसी र अनमोलको केमेस्ट्री, साथै केदार प्रसाद घिमिरेको कमेडी मुख्य आकर्षण हुने देखिन्छ । टिजरबाट नै प्रशंसा बटुलेको यो फिल्मले दर्शकको मन जित्ने अपेक्षा गरिएको छ ।












