फिल्म । गायक तथा अभिनेता प्रकाश सपुतको डेव्यु निर्देशकिय फिल्म ‘वसन्त’ ट्रेलरलाई दर्शकले रुचाएका छन् । ट्रेलरलाई ४ लाख बढि दर्शकले हेरिसक्दा यसको चर्चा बढ्दो छ । आफ्नो प्रिय गायकले पहिलो पटक फिल्म निर्देशन गरेका कारण दर्शकले यसमा उठाईएको विषयमा छलफल चलाएका छन् । आम दर्शकसँगै फिल्मकर्मी र प्रदर्शक बीचसमेत चर्चामा रहेको ‘वसन्त’ ट्रेलर युट्युबको ट्रेन्डिङमा समेत उक्लेको छ । यो समाचार तयार पार्दै गर्दा ‘वसन्त’को ट्रेलर युट्युवको मुभिज सेक्सन अर्न्तगत २ नम्बर ट्रेन्डिङमा छ । ट्रेलर हेरेका अधिकांश दर्शक फिल्म हेर्न व्यग्र प्रतिक्षामा रहेको प्राप्त प्रतिक्रियाबाट बुझिन्छ ।
ट्रेलरको कमेन्टवक्समा यस्तै तीन हजार बढि प्रतिक्रिया छ । यति मात्रै होइन् दर्शकले फिल्मका मुख्य कलाकार तथा डेव्यु निर्देशक सपुत, अभिनेत्री स्वस्तिमा खड्काको पनि उत्तिकै तारिफ गरेका छन् । फिल्ममा उल्लेखित कलाकारसँगै प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारीको अभिनय रहेको छ ।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा फिल्ममा कथा, पटकथा र संगीत पनि निर्देशक सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथामा फिल्म तयार भएको छ । यसको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् ।












