डायस्पोरामा बढ्यो ‘अञ्जिला’ को माग, दर्शक भेट्न नेपाल आउँदै कप्तान सुब्बा

फिल्म । फागु पूर्णिमाको अवसर पारेर गत बिहीबार फागुन २९ देखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘अञ्जिला’ लाई दर्शकले रुचाएका छन् । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्मलाई हेर्न आउने दर्शकको चाँप बढनुका साथै दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् । हलहरूमा दैनिक शो सङ्ख्या वृद्धि गर्दै लोकप्रियताको नयाँ उचाइ छोएको फिल्मको प्रचारमा स्वयम् कप्तान सुब्बा जोडिने भएकी छिन् ।

हाल व्यावसायिक फुटवल खेलका लागि ग्रीसमा रहेको कप्तानले मार्च २३ मा हुने खेलपछि एक हप्ता विश्राम लिदैछिन् । उक्त समयमा उनले नेपालमा आफ्नो फिल्मको प्रचार गर्नुका साथै दर्शकसँग प्रत्यक्ष भेटघाट गर्नेछिन् । दर्शकमार्फत सकारात्मक ‘वर्ड अफ माउथ’ पाएको फिल्मलाई लिएर कप्तान सुब्बा निकै उत्साहित छिन् । कप्तान सुब्बाको नेपाल आउने तालिका छिटै सार्वजनिक गर्ने र नेपालभरका हलमा भिजिट गर्ने योजना रहेको निर्माण पक्षले जनाएको छ ।

यसका साथै नेपालमा फिल्मले राम्रो प्रतिक्रिया पाएपछि यसको माग विदेशमा समेत बढेको छ । क्यानडा, जापान लगायतका देशमा हुने शो छिटै घोषणा हुने निर्माण पक्षले जानकारी दिएका छन् । साथै, यो छिटै नेपाली भाषी रहेको डायस्पोरामा ग्राण्ड रिलिज हुँदैछ ।

वितरण कम्पनी रीच इन्टरटेन्मेन्टका प्रमख करण श्रेष्ठका अनुसार नेपालमा एक सय ५ शोबाट सुरू भएको फिल्म ‘अञ्जिला’ को प्रदर्शन शुक्रवार एक सय १४, शनिवार एक सय ३४ हुँदै मङ्गलवारसम्म आइपुग्दा एक सय ७० भन्दा बढी शोसहित नेपालभर प्रदर्शन भइरहेको छ । उनले आउँदो दिनमा फिल्मको शो अझैँ बढ्ने बताए ।

यसका निर्देशक मिलन चाम्सले दर्शकको सकारात्मक प्रतिक्रिया र उच्च मागले दिनानुदिन सफलताको नयाँ उचाई पाउन सफल रहेको बताए । राष्ट्रिय महिला फुटबल टोलीको कप्तानीसम्मको उनको यात्रालाई पर्दामा देख्दा दर्शकहरू भावुक बनेका छन् । फिल्मलाई कप्तान सुब्बाको धर्मपिता प्रेमकुमार श्रेष्ठले निर्माण गरेका हुन् ।

फिल्ममा कप्तान सुब्बासँगै माओत्से गुरुङ, दयाहाङ राई, सिर्जना सुब्बा, सुमिन गुरुङ, सुनिल थापा, बुद्धि तामाङ, विजय बराल, मञ्जु श्रेष्ठ लगायतका कलाकारहरूले अभिनय गरेका छन् । दर्शकहरूको सकारात्मक प्रतिक्रियासँगै ‘अञ्जिला’को गीत ‘रात किन हुन्छ हजुर, रात किन हुन्छ’सामाजिक सञ्जालमा भाइरल भएको छ । राम्रो ‘वर्ड अफ माउथ’ पाएको फिल्म ‘अञ्जिला’ ले जीवनमा अगाडि बढ्न प्रेरणा दिने निर्माता श्रेष्ठले बताएका छन् ।

उनले फिल्मबाट संकलित सम्पूर्ण मुनाफा कप्तान सुब्बाको घर बनाउन प्रयोग हुने बताए । फिल्म निर्माणमा तुबेन्द्र लिम्बू, विनोद अग्रवाल, राजेश बगडियाले सहकार्य गरेका छन् । सुदीप बरालले छायांकन, मिलन श्रेष्ठले सम्पादन गरेको यो फिल्मलाई उपत्यकामा रीच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट तथा मोफसलमा एफडी कम्पनिले वितरण गरेको छ ।

कमेन्ट गर्नुहोस्