फिल्म । प्रणय दिवसको दिन पारेर फागुन २ गतेबाट प्रदर्शन हुन लागेका दुई फिल्म ‘दुःखी आत्मा’ र ‘रंगी’को देशभरका मल्टीप्लेक्सहरूमा अग्रिम टिकेट बिक्री तथा बुकिङ खुला भइसकेको छ । सबैभन्दा धेरै हल रहेको मल्टीप्लेक्स चेन क्यूएफएक्स सिनेमाजले ‘दुःखी आत्मा’लाई देशभर कुल ६५ शो उपलब्ध गराएको छ । यो उल्लेख्य शो हो । दोस्रो ठूलो चेन आइएनआइले चार स्टेशनमा गरी ‘दुःखी आत्मा’लाई १७ शो उपलब्ध गराएको छ ।
त्यस्तै, काठमाडौं उपत्यकाभित्र सञ्चालित वान् सिनेमाजको नयाँ बानेश्वर र कालीमाटी हलमा गरी ९, एफक्यूबमा ५, विएसआरमा ४, बिग मुभिजमा ‘दुःखी आत्मा’लाई ३ शो छ । मोफसलमा रहेका अधिकांश मल्टीप्लेक्सहरूले पनि यही हिसाबले दुई फिल्मलाई शो बाँडेका छन् । ‘दुःखी आत्मा’ले जुन संख्यामा शो प्राप्त गरेको छ, त्यसअनुरुप अकुपेन्सी पनि हुन सकेको खण्डमा फिल्मको ‘ओपनिङ’ आक्रामक हुनेछ ।
फिल्मको टिजर, ब्रेकअप कविता र ट्रेलरले दर्शकको साथ पाइसकेको छ । सामाजिक कथामा नयाँ नयाँ बिषय पस्कन सफल मानिएका दीपेन्द्रको यो फिल्मले यौन समस्याका कारण एक पुरुषले भोग्ने विभिन्न तनावको कथालाई प्रस्तुत गरेको छ । हिमाल कडरियाको निर्माणमा सुदिप ढकाल कार्यकारी निर्माता रहेको यो फिल्ममा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, वुद्दि तामाङ लगायतका कलाकारहरुको अभिनय छ ।
यस्तै, अभिनेता सलोन बस्नेतले निर्माताको रुपमा डेब्यु गरेको फिल्म ‘रंगी’ पनि मल्टिप्लेक्सदेखि सिङ्गल स्क्रिनसम्म प्रदर्शन हुँदैछ ।उनले छोरीको जन्मपछि सान्भी इन्टरटेनमेन्ट प्रालि स्थापना गरेर फिल्म निर्माण गरेका हुन् । ‘रंगी’ ले केन्द्रीय चलचित्र जाँचपास समिति(सेन्सर बोर्ड)बाट ‘यू’ अर्थात ‘युनिभर्सल’ सर्टिफिकेट पाएको छ । फिल्म विशेषत बाबुछोरीको कथामा आधारित छ । फिल्मको पोस्टर, टिजर, ट्रेलर र गीतले राम्रो हाइप पाइरहँदा सेन्सर बोर्डबाट प्राप्त प्रतिक्रिया प्रति निर्माण समूह खुशी छ ।
सबैभन्दा धेरै हल रहेको मल्टीप्लेक्स चेन क्यूएफएक्स सिनेमाजले ‘रंगी’ भने कुल १६ शोमा दिएको छ । दोस्रो ठूलो चेन आइएनआइले चार स्टेशनमा गरी ‘रंगी’लाई भने ४ शोमा सीमित गराइएको छ ।
त्यस्तै, काठमाडौं उपत्यकाभित्र सञ्चालित वान् सिनेमाजको नयाँ बानेश्वर र कालीमाटी हलमा गरी ३, एफक्यूबमा २, विएसआरमा १, बिग मुभिजमा १ उपलब्ध गराएको छ ।
आगामी फागुन २ गते रिलिज हुने फिल्ममा सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन छ । फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ । फिल्म ‘रंगी’ सलोनको डेब्यू निर्माण हो ।
सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतमको निर्माण रहेको फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, आनन्द कार्की, आमेश भण्डारी, भीम बिसी, समीक्षा अधिकारी र सुजता केसीको स्वर, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको शब्द, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन छ । फिल्मलाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछ ।












