फिल्म । प्रतिनिधि सभा सदस्य सुहाङ नेम्वाङले ‘अञ्जिला’ चलचित्र नेपाली खेलकुद र फिल्मको लागि प्रेरणादायी भएको बताएका छन् । नेपाली राष्ट्रिय महिला फुटबल समूहकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित फिल्म ‘अञ्जिला’ द्वारा आयोजित पत्रकार सम्मेलनमा सहभागी भएका प्रतिनिधि सभा सदस्य नेम्वाङले निर्देशक मिलन चाम्सलाई फिल्म क्षेत्रको ‘मेस्सी’ रुपमा बुझेको बताए ।
उनले भने,‘खेलाडीको जीवनीलाई पर्दामा ल्याउने आट गर्ने निर्देशक मिलन दाई मेस्सी नै हुनुहुन्छ । उहाँको यो कामको प्रभाव आउने समयमा देखिने छ । यो फिल्मले नेपाली महिला खेलकुदको महत्त्व र सम्भावनालाई विश्वसामु पुर्याउनेछ । प्रतिभाशाली युवाहरूलाई थप उचाइमा पुर्याउन यो फिल्मले ठूलो भूमिका खेल्नेछ ।’
युरोपियन राष्ट्र ग्रिसको महिला ए डिभिजन लिग क्लब निस अट्रोमिटोउबाट खेल्ने भएपछि खेलाडी सुब्बाकै जीवनीमा आधारित रहेर निर्माण गरिएको फिल्म ‘अञ्जिला’ समूहद्वारा एक कार्यक्रमको आयोजना गर्दै बिदाइ गरिएको थियो ।
फिल्म ‘अञ्जिला’ कप्तान एञ्जिला सुब्बाको जीवन सङ्घर्ष र सफलतामा आधारित छ । यसमा अञ्जिला आफैँ प्रमुख भूमिकामा देखिएकी छिन् । उनले सम्भव भएका नेपाल बाहिरको देशमा प्रिमियरमा सहभागी हुने बताइन ।
फिल्ममा अन्य कलाकारहरूमा सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, मञ्जु श्रेष्ठ र बुद्धि तामाङ छन् । यसका निर्माता प्रेम कुमार श्रेष्ठ हुन् भने सह-निर्माताहरूमा टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया छन् । यसको छायाङ्कन सुदीप बरालले गरेका हुन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन् ।












