फिल्म । आउँदो मङ्सिर ५ गतेबाट फिल्म ‘चपली हाइट’ को छायाँकन सुरु हुने भएको छ । अर्जुन कुमारको निर्माणमा बन्ने फिल्मको हिजो मंगलबार कार्यविनायक मन्दिरमा पूजा गर्दै शुभ मुहुर्त गरियो । सस्पेन्स थ्रिलर जनरामा निर्माण हुने फिल्मको निर्देशन निकेश खड्काले गर्नेछन् । यसमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी र प्रतिक श्रेष्ठको मुख्य भूमिका रहनेछ । प्रतिकले यहि फिल्मबाट अभिनय यात्रा थालनी गर्दैछन् ।
‘ म पुरै तयारी भएकी छैन । छायांकनमा जाँदासम्म सबै कुराले गति लिन्छ होला’ स्वस्तिमा खड्काले आफ्नो भूमिकालाई लिएर भनिन् । अर्की अभिनेत्री सुपुष्पाले कथामा पाएको भूमिकाले उत्साहित गरेको बताइन । यस्तै निर्माता अर्जुन कुमारले अघिल्ला फिल्ममा जस्तै ‘चपली हाइट ३’मा दर्शकको आश अझै बढेकाले मेहनत बढी गरिररहेको प्रस्ट्याए ।
‘चपली हाइट’को दुई शृंखला मध्ये पहिलोले व्यवसायिक सफलता पायो । भने, दोस्रोले सोचे जस्तो सफलता पाउन सकेकी थिएन । तेस्रो शृंखलाको कथाबस्तु बलियो भएकाले निर्माण पक्षले यसबाट सफलता मिल्ने आशा बोकेको छ । अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलको संयुक्त निर्माण बन्ने फिल्म यसै वर्षको चैत्रमा रिलिज हुनेछ ।