फिल्म । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘ह्रस्व दीर्घ’ले देशभर उत्साहजनक व्यापार गरिरहेको छ । दर्शकको उच्च साथ मिलेसँगै निर्माण टिम आज दर्शकसँग साक्षात्कार गर्न नेपालगञ्ज पुगेको छ । फिल्मकी निर्मात्री तथा अभिनेत्री नीता ढुंगाना, हरिहर अधिकारी, भारतीय अभिनेता प्रदीप सिंह रावत र निर्देशक चन्द्र पन्त बुधबार बाँकेको नेपालगञ्ज पुगेका हुन् । भारतीय अभिनेता प्रदीप नेपालगञ्जबाट नै भारत फर्किन लागेको निर्देशक पन्तले बताए ।
यसैबीच निर्माण टिमले ४ दिने बक्सअफिस कलेक्सन रिपोर्ट समेत सार्वजनिक गरेको छ । फिल्मले ४ दिनमा ३ करोड ६५ लाख ग्रसकलेक्सन गरेको वितरक मनोज राठीले जानकारी दिएका छन् । फिल्मले शुक्रबार ८० लाख, शनिबार १ करोड २० लाख, आइतबार ७५ लाख र सोमबार ९० लाख ग्रसकलेक्सन गरेको बितरक कम्पनि ब्यंकटेश इन्टरटेनमेन्ट उल्लेख गरेको छ ।
नेपाली र दक्षिण भारतीय कलाकारले काम गरेका कारण चर्चामा रहेको फिल्मले दर्शकको उत्कृष्ट ‘वर्ड अफ माउथ’ पाएका कारण आगामी दिनमा व्यापार बढ्ने विश्वास निर्माण टिमलाई छ । अभिनेत्री तथा निर्मात्री नीता ढुंगानाले दर्शकले फिल्मलाई रुचाएको बताइन ।
उनले भनिन्,‘हामी विभिन्न हलमा पुगेर दर्शकसँग प्रतिक्रिया लिईरहेका छौं । उहाँहरूले नै अब हाम्रो फिल्मको प्रचार गर्नुहुनेमा मसहित सम्पूर्ण टीम विश्वस्त छौं । दर्शकलाई एउटा उत्कृष्ट फिल्म दिने हाम्रो सपना आजबाट पूर्ण भएको छ, हामी प्रतिक्रिया लिन अधैर्य छौं ।’
चन्द्र पन्त निर्देशित फिल्म ‘ह्रस्व दीर्घ’ एउटा पूर्ण रूपको फ्यामिली ड्रामा रहेको बताईएको छ । नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्मको कार्यकारी निर्माता धनन्जय गलानी हुन् । यसमा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।
अभिनेता अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको फिल्मलाई भारतीय सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् ।










