फिल्म । दीपेन्द्र गौचन निर्देशित फिल्म ‘मिसिङ: केटी हराएको सूचना’ नाजिर हुसेन र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा छन् । निर्देशक गौचनले प्रचारप्रसारमा प्रयोग गरिएका सामग्री झैँ फिल्ममा समेत उक्त दुई कलाकार कै दृश्य ९० प्रतिशत भन्दा बढी रहेको बताएका छन् । उनले आफ्नो सोच अनुसार नै दुई कलाकारले जीवन्त अभिनय गरेको बताए ।
अभिनेत्री श्रेष्ठले पनि अहिलेसम्मको आफ्नो फाइन काम भएको भन्दै टिमसँग जोडिन पाउँदा हर्षित रहेको बताइन् । उनले भनिन्,‘यो फिल्ममा जोडिएर काम गर्न पाउँदा आफुलाई पूर्ण भएको महसुश गरेकी छु । मैले जती निर्देशक गौचनको विषयमा सुनेकी थिएँ, त्यो भन्दा राम्रो अनुभव बटुलेकी छु । यसमा उहाँले हाम्रो पात्रलाई स्वतन्त्र छाड्नु भएको छ, त्यसैले पात्रमा जीवन भरिएको छ ।’
अभिनेत्री श्रेष्ठले फिल्ममा दर्शकले आफ्नै गाउँ र समाजको कथा भेट्ने बताइन । सामाजिक संजालबाट भेटिएका दुई अपरिचित युवायुवती यात्रामा निस्किँदा आउने उतारचढावको कथा यसमा छ । फिल्मले पहाडी समुदायको युवा र मधेशी समुदायकी युवतीको रहनसहन र मेलमिलाप बारेको कथा पेश गर्छ । फिल्मले पहाडी-मधेशी मेलमिलापको खोजी गर्छ ।
३२ वर्षअघिको लोकप्रिय टिभी डकुड्रामा ‘उजेली’ र ‘हाम्रो मुमिन’का निर्देशक समेत रहेका गौचनको यो तीन दशकपछिको पुनरागमन हो । फिल्ममा सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ ।
कात्तिक ३० गतेदेखि प्रदर्शन हुने फिल्ममा ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता र ब्यानरको रुपमा छ । मुलुकको ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सका निर्देशक तथा वितरण कम्पनी एप्पल इन्टरटेनमेन्टका प्रमुख समेत रहेका नकिम उद्दिन कार्यकारी निर्माताको रुपमा छन् ।










