फिल्म । गत शुक्रबारबाट पुनः प्रदर्शनमा आएको फिल्म ‘बुलाकी’ ले सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ । शुक्रबार र शनिबार प्राप्त शोजहरूमा फिल्मलाई दर्शकले साथ दिएको निर्माण पक्षले जानकारी दिएको छ । शनिबार राजधानी र मोफसलका अधिकांश शोजहरू हाउसफूल रहेको स्कृनसटसहितको अपडेट निर्माता तथा कलाकार विराज बिष्टले सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । शनिबार दिनभर फिल्मले ७० प्रतिशतमाथिको अकुपेन्सी कायम राख्न सफल भएको वितरक करण श्रेष्ठले बताए ।
यसअघि नेपाल सरकारबाट विशेष फिल्मको पुरस्कार प्राप्त गरिसकेको फिल्मले विभिन्न अवार्ड समारोहहरूमा उत्कृष्ट बन्दै अब्बलता देखाइसकेको छ । निर्माता बिष्टले दर्शकबाट प्राप्त वर्ड अफ माउथले फिल्मलाई लामो रेसको घोडाको रूपमा अघि लैजाने विश्वास पोखे ।
अघिल्लो वर्ष २ दिन रिलिज भएर हलबाट बाहिरिएको फिल्मलाई निर्माण टिमले पुन: प्रदर्शनमा ल्याएको हो । लक्ष्मण सुनारको निर्देशनमा बनेको फिल्ममा सुरक्षा पन्त, नरेन खड्का, विराज बिष्ट, सरस्वती खत्री, सुशील पोखरेल, रमेश बुढाथोकी, लक्ष्मी गिरी लगायत प्रमुख अभिनयमा छन् ।











