फिल्म । आगामी भदौ अन्तिम सातादेखि प्रदर्शनमा आउने फिल्म ‘अभिमन्यु : च्याप्टर–१’ को ‘माली’ बोलको गीत सार्वजनिक गरिएको छ । निर्माण पक्षले आज सार्वजनिक गरेको यो गीतमा दाजु र बहिनीबीचको पवित्र प्रेम तथा जिम्मेवारीको कथा समेटिएको छ । गीतमा शब्द, संगीत र स्वर प्रशान्त शिवाकोटीको रहेको छ भने यसलाई विषम आचार्यले संगीत संयोजन गरेका हुन् ।
‘माली’ गीतले दाजुले बहिनीलाई गर्ने निस्वार्थ माया र उनको खुसीमा आफ्नो संसार देख्ने जिम्मेवार दाजुको कथालाई सुन्दर ढंगले प्रस्तुत गरेको छ । यसले बहिनीको रेखदेखमा ‘माली’ बनेर खटिने दाजुको भावनात्मक पक्षलाई उजागर गरेको छ, जुन दर्शकको मन छुने अपेक्षा गरिएको छ । आगामी रक्षाबन्धनलाई लक्षित गरी यो गीत सार्वजनिक गरिएको निर्माण पक्षले जनाएको छ । गीत सार्वजनिक गर्दै फिल्म टिमले भिडियो प्रतिस्पर्धाको पनि घोषणा गरेको छ ।
यस गीतमा दाजुभाइ दिदीबहिनीले रक्षाबन्धनको राखी बाँधेको भिडियो बनाएर सेयर गर्ने उत्कृष्ट ३ भिडियोलाई क्रमशः ५० हजार, ३० हजार र १५ हजार रुपैयाँको पुरस्कारको व्यवस्था गरिएको निर्माण पक्षले जनाएको छ । फिल्म ‘अभिमन्यु : च्याप्टर–१’ भदौ २७ गते नेपालमा रिलिज हुँदैछ । यसको हिन्दी भर्सन भने असोज ६ (सेप्टेम्बर २२) मा विश्वव्यापी रूपमा प्रदर्शन गरिने निर्माता विनोद पौडेलले जानकारी दिएका छन् ।
हाल पोस्ट–प्रोडक्सनमा रहेको यो फिल्ममा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौलालगायत कलाकारहरूको मुख्य भूमिका रहेको छ ।
सेभेन सिज सिनेमाको प्रस्तुतिमा बनेको फिल्म ‘अभिमन्यु : च्याप्टर–१’ को निर्देशन सुशान्त गौतमले गरेका हुन् । यो उनको डेब्यु निर्देशन हो । मुकेश खनालको लेखन तथा मदन थापाको क्रिएटिभ निर्देशन रहेको यस फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माता छन् भने विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ कार्यकारी निर्माताको रूपमा रहेका छन् । फिल्ममा जीवन शाक्य लाइन प्रोड्युसर, मनोज श्रेष्ठ भिएफएक्स, सुप्रिम पराजुली रंग संयोजन, मदन घिमिरे सम्पादक र शरद महतो डिओपी रहेका छन् ।










