फिल्म । निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको फिल्म ‘नरसिंहाः अवतार’ मा कलाकारहरुको रोचक लाइनअप तयार हुने क्रम जारी छ। फिल्मका लागि अहिलेसम्म तीनजना मुख्य पात्रहरु फाइनल गरेको निर्माणपक्षले थप दुई जना कलाकारहरु फाइनल गरेको हो । एक्सन तथा सोसल ड्रामामा बन्ने यो फिल्मको शीर्षमध्ये एक भूमिकामा दीपा शाही र सरोज खनाल अनुबन्धित भएका छन् ।
निर्माणपक्ष र उनीहरुबीच लिखित सम्झौता भइसकेको छ । निर्माणपक्षले यो फिल्ममा दीपा र सरोजको कस्तो भूमिका छ भन्ने विषयमा भने केही पनि खुलाइएको छैन ।
यही फिल्मबाट ८ वर्षपछि महानायक राजेश हमाल कमक्याक गर्दैछन् । आठ वर्ष भन्दा धेरै समय पछि हमाल फिल्ममा फर्किने खबरले यतिबेला नेपाली फिल्मवृत तताएको छ । यो फिल्म उनीसँगै दर्शक दुवैका लागि विशेष हुने पक्का छ । जस कारण यो फिल्म प्रतिक्षित बन्ने निश्चित छ ।
क्याप्टेनपछि दिवाकरको फिल्ममा सरोजले अभिनय गर्न लागेका हुन् । फिल्ममा हमाल पछि यसअघि नै निती शाह, सनिशा भट्टराई अनुबन्धित भइसकेकी छन् । क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने फिल्म यही भदौबाट छायाङ्कनमा जाने तयारीमा रहेको छ । फिल्मको लगानी तीन करोडभन्दा माथि हुने बताइएको छ ।











