बेलायतमा सेन्सर भयो ‘गोर्खा वारियर’

फिल्म । हलिउड प्रिमियरको तयारीमा रहेको चलचित्र ‘गोर्खा वारियर’ ले बेलायतस्थित सेन्सर बास भएको छ । स्थानीय सेन्सर बोर्डले चलचित्रलाई पन्ध्रवर्ष भन्दा माथिका व्यक्तिलाई देखाउन पाउने गरि प्रदर्शन अधिकार दिएको छ । चलचित्रको हलिउड प्रिमियर बेलायतको प्रतिष्ठित आइम्याक्स सिनेवर्ल्डमा यही भदौ २४ गते अर्थात् १० सेप्टेम्बरमा हुँदैछ । विशेषतः उक्त चलचित्र भवनमा हलिउडका ठुला कम्पनी मार्भल, डिसी, युनिभर्सल, डिज्नीको चलचित्र विशेष प्रदर्शनी हुन्छन् । यद्यपि गोर्खालीको विषयले गर्दा विशेष प्रदर्शनी सम्भव भएको बेलायतबाट निर्देशक चाम्सले जानकारी दिए ।

‘गोर्खालीहरुले मलाया युद्धमा सफलता हाँसिल गरेका दृष्यहरु समेटिएका छन् । द्धन्द्धयुक्त ती दृष्यहरुलाई मध्यनजर राख्दै यहाँको सेन्सर बोर्डले यसलाई १५ वर्ष भन्दा माथिका दर्शकले हेर्न मिल्ने गरी सेन्सर इजाजत प्रदान गरेको हो’, निर्देशक चाम्सले भने ।

उनले यो प्रिमियरमार्फत इतिहास निर्माण हुने बताए । उनले भने,‘विश्वका ठुला कम्पनीले निर्माण गरेको चलचित्र प्रिमियर हुने स्थानमा हाम्रो हुनुमा पैसाभन्दा पनि गोर्खालीले बनाउनुभएको वीरताको इतिहास हो । अहिले गोर्खा वारियरको चर्चा देखिए पनि यसले कालान्तरमा नेपाली चलचित्रलाई प्रवर्द्धनमा टेवा पुर्‍याउँछ, किनकि नेपाली चलचित्रको स्तरीयता विश्वकै प्रख्यात चलचित्र भवनमा देखाउँदछौँ ।’प्रिमियरमा सहभागी हुन नेपालबाट समेत चलचित्रकर्मी बेलायत पुगेका छन् ।

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले समेत ‘गोर्खा वारियर’लाई पत्र लेख्दै सफलताको शुभकामना दिएपछि लन्डनमा चर्चा र चासो बढेको निर्देशक चाम्सले जानकारी दिए । ‘अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले गोर्खालीका विषयमा चलचित्र बनेको थाहा पाएपछि गरिरहेको सहयोगको शब्दमा बयान गर्न सक्दिन, हामीले सांसद, स्थानीय निकायका प्रमुख, बेलायती सेनाका जनरल, गोर्खा रेजिमेन्ट अधिकृत, नेपाली दूतावासका प्रतिनिधि लगायतलाई निम्तो दिइरहेका छौँ’, उनले भने ।

युद्ध विधामा बनेको ‘गोर्खा वारियर’ सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथामा आधारित छ । नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा प्रदर्शन हुने चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राई लगायतका कलाकारले अभिनय गरेकाछन् । निर्देशक चाम्स र गिरिराज घिमिरेको लेखन रहेको चलचित्रमा मिलन श्रेष्ठले सम्पादन, सुदीप बरालले छायाङ्कन र हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन् ।

कमेन्ट गर्नुहोस्