फिल्म । पछिल्लो समय प्रदर्शनमा आएको फिल्ममा ‘कबड्डी कबड्डी कबड्डी’ ले आफुलाई १० करोड क्लबमा पुर्याउन सफल भएको छ । तेस्रो सिरिजसम्म आइपुग्दा फिल्मले पाएको यो अधिकतम सफलता हो । फिल्म युनिटले सफलताको खुसि साट्दै दर्शकलाई धन्यवाद समेत दिएका छन् । निर्देशक रामबाबु गुरुङले तेश्रो सिरिजसम्म आइपुग्दा यसको ब्रान्डको ब्याज खाएको बताएका छन् ।
‘समिक्षक र दर्शकले दिएको सुझाव उचित छ’ उनले भने ,’यसपटक हामी धेरै ठाउँमा चुक्यौं । विभिन्न अप्ठ्याराका विचमा जती बनाउन सक्यौं, त्यती बनायौं । हामीलाई छायांकनका क्रममा नै हामी कहाँ कहाँ चुक्दैछौ भन्ने थाहा थियो ।’ रामबाबुले यसपटक कथाको काम गर्दा कहिले लेखक उपेन्द्र सुब्बाले समय दिन नपाएको त कहिले आफूले समय दिन नपाएकाले पनि यस्तो भएको स्विकार गरे । तर, उनले ‘कबड्डी ४’मा भने यस्तो नहुने प्रतिवद्धता व्यक्त गरेका छन् ।
उनले भने–‘कबड्डी ४ बनाउने कुरा त पक्का छ । तर, यसपटक कसरी कथालाई अगाडि बढाउने भन्ने फाइनल गरिसकेका छैनौ ।’ उनले अघिल्लो सिरिजमा भएका कमीकमजोरीलाई सच्याउदै कबड्डी भन्दा पनि राम्रो बनाउने कोसिसमा लागेको समेत बताए । यो सिरिजमा सबै भन्दा उत्कृष्ट सिरिजको रुपमा ‘कबड्डी’ लाई दर्शक र समिक्षकले लिएका छन् ।
वितरक कम्पनि स्टेशन ५ ले दिएको जानकारी अनुसार सिनेमाले दुई सातामा ११ करोड ३ लाख रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भएको छ । यसलाई निर्माण टिमले पनि एक कार्यक्रमको आयोजना गर्दै प्रस्ट्याए । यसले पहिलो साता ७ करोड ३८ लाख देशव्यापी कमाएको थियो । भने, दोस्रो साताको कुल कलेक्सन ३ करोड ६५ लाख रह्यो । फिल्ममा दयाहाङ राई, उपासना सिंह ठकुरी, रिश्मा गुरुङ, कर्मा, विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराल, पुस्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, लूनिभा तुलाधर, कमलमणि नेपाल, डा सिंह गुरुङ, शिला खनाल र मणि के राई जस्ता कलाकारको अभिनय छ ।
सिनेमा आर्टको प्रस्तुतिसँग बाँसुरी फिल्मस् र माउन्टेन स्टोरिजले सहकार्यमा फिल्मलाई निर्माण भएको हो । निर्देशक रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले लेखेको कथामा मणिराम पोखरेल, अर्जुन कार्की र ओमचन्द रौनियारले लगानी गरेका छन् । भने, सह-निर्मातामा रुदेन सदा लेप्चा रहेका छन् ।










