फिल्म । सातवर्ष अगाडी प्रदर्शन भई दर्शकको मन जित्न सफल फिल्म ‘पशुपति प्रसाद’ को नयाँ सिरिज ‘भष्मे डन’ बन्ने भएको छ। खगेन्द्र लामिछानेको लेखन तथा दीपेन्द्र के खनालको निर्देशनमा बन्ने फिल्म ‘पशुपति प्रसाद : भष्मे डन’ को शुक्रबार पशुपतिनाथ मन्दिर परिसरमा पूजा गर्दै शुभमुहूर्त गरियो । विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिस्श्री थापा, सजन थापा मगर, वर्षा सिवाकोटी लागायतको अभिनय रहेको फिल्म चैत १० गतेबाट छायांकनमा जानेछ।
निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज तथा सुभाष भुषालको संगीत रहने सिनेमा टुकी आर्टस्को ब्यानरमा निर्माण हुनेछ । आगामी बडा दशैंको फूलपातीबाट सिनेमा प्रदर्शनमा आउने घोषणा गरिएको छ ।
व्यावसायिक तथा समीक्षात्मक रुपमा सफल सिनेमा‘पशुपति प्रसाद’को चरित्र केन्द्रित सिक्वेलको रुपमा विपिन कार्कीले निर्वाह गरेको भष्मे डन मा केन्द्रित रहेर बन्नेछ । लेखक लामिछानेले नाम मात्रको सिक्वेल मात्र नभई अर्थपूर्ण र तर्कपूर्ण सिक्वेल बन्ने बताउँछन् ।










