फिल्म । रोमान्टिक लभस्टोरी जनरामा निर्माण भएको ‘लभ यू हमेशा’ आउँदो भाद्र ६ गतेबाट प्रदर्शनमा आउनेछ । भाष्कर प्रधान निर्देशित फिल्मको प्रदर्शन मितिसँगै निर्माण टिमले सोमबार फस्टलुक पोस्टर पनि सार्वजनिक गरेको छ ।
विभिन्न डिजाइनका पोस्टरमा फिल्मका प्रमुख कलाकारहरु यशराज गरच, ऋचा थापा र फिजा योन्जनलाई हाइलाइट गरिएको छ । धर्मा क्रिएसनको ब्यानरमा यवन गुरुङको प्रस्तुति र मिलन गुरुङ सह-निर्माता रहेको फिल्ममा शिशिर राणा, गोपाल ढकाल (छन्दे), पिटी योल्मा, प्रमिला राई, सल्देन तामाङको पनि अभिनय छ ।
भारतको कालेबुङ, सिलगुडी तथा काठमाडौंमा सुटिङ भएको फिल्मको केही दृश्य सिंगापुर र फिलिपिन्समा खिचिँदैछ । निर्देशक भास्करकै कथा, शिव ढकालको छायांकन, एनवि महर्जनको द्वन्द्व निर्देशन, भासुको संगीत, कमल राईको कोरियोग्राफी र मिलन श्रेष्ठको सम्पादन छ । ‘लभ यू हमेशा’ को वितरण आरआर फिल्मस्ले गर्दैछ । यसै मितिमा यसअघि नै जाइराले प्रदर्शन मिति घोषणा गरिसकेको छ ।