फेरिएकी मिरुना

फिल्म । गत वर्ष मिरुना मगरका लागि सुखद भयो । वर्षकै पहिलो दिन रिलिज भएको ‘जारी’ ले उनलाई सफलतामा निरन्तरता दियो । ‘कबड्डी ४’ को सफलतापछि उनी सर्वाधिक खोजिने अभिनेत्री बनिन् । यिनै मिरुनाको विसं २०८१ को सुरुआत ‘जारी’ कै समूहले निर्माण गरेको फिल्म ‘मनसरा’ मार्फत हुँदैछ । फिल्ममा उनी शिर्ष भूमिकामा छिन् ।

‘आफैँ शिर्ष भूमिकामा हुँदा थप दायित्व महसुश हुन्छ नै । तर, फिल्म भनेको टिम वर्क हो । हामी सबैको उस्तै मेहनत परेको छ । यद्यपि कलाकारलाई नै सफलता र असफलताको सिधा श्रेय जान्छ’, अभिनेत्री मगरले भनिन् ।

उनले ‘जारी’ को हाङमाको पात्रमार्फत समुदायर संस्कृतिले कत्तिको अर्थ राख्छ भन्ने बुझिन् । सतही नभई पात्रकै जीवन बाँचे मात्र पर्दामा जीवन्त देखिन्छ भन्ने बुझिन् । त्यसपछि उनको अभिनय फेरिएको छ । पात्रसँग उनले यात्रा गर्न थालेकी छिन् ।

‘मलाई रमकम होस् या सोसल ड्रामा अर्थहीन पात्रमा प्रस्तुत हुन् मन छैन । किनकि म देखिनको लागि मात्र नदेखिउ जस्तो लाग्छ । तर, मैले सोसल ड्रामा मात्र गरेर अन्य विधाको फिल्म गर्दिन भन्ने होइन । पर्खाइ छ’, अभिनेत्री मगरले भनिन् ।

‘जारी’ मार्फत अभिनयको कौशलतालाई बुझेकी अभिनेत्री मगरले सुरुआती दिनमा सायद आफूले खुलेर काम गर्न नसकेको बुझेकी छिन् । ‘सायद म धेरै जिज्ञासु भइन्, काम गरें । त्यहाँ मेरै मिस्टेक होला । तर, आउँदो समयमा झन् झनै परिपक्कता बढाउने प्रयत्न गरेकी छु’, उनले भनिन् ।

फिल्ममा हेमन्त बुढाथोकी, प्रविन खतिवडा, मेनुका प्रधान, दयाहाङ राई, शान्ति गिरी, नेनहान राईको पनि अभिनय छ । निर्देशक उपेन्द्र सुब्बाकै लेखन रहेको फिल्मका निर्माता छायांकार शैलेन्द्रध्वज कार्की हुन् ।

विष्णु कुमार लिम्बु, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह-निर्माता रहेको फिल्ममा निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजन, श्रवलराज पाण्डेको साउन्ड डिजाइन, मानाहाङ लावती, मनिक शंखर रसुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन रहेको छ । सिजन दाहाल कार्यकारी निर्माता रहेको फिल्मका मुख्य सहायक निर्देशक किरण चाम्लिङ राई हुन् ।

कमेन्ट गर्नुहोस्