फिल्म । फागुन २५ गतेदेखि प्रदर्शनरत नेपाली फिल्म ‘रङ्गेली’को विदेशमा माग बढेको छ । नेपालमा प्राप्त प्रतिक्रियासँगै विदेशबाट ‘डिमान्ड’ आएको निर्देशक अर्जुन सुवेदीले जानकारी दिए । उनका अनुसार अमेरिका, क्यानडा, जापान र कोरियामा पहिले नै बिक्री भइसकेको फिल्म नेपालको प्रतिक्रियाले मलेशिया, दुबई, कतार, बहराइन, साउदी, ओमनमा पनि प्रदर्शन तय हुँदै बिक्री भएको छ ।
निर्देशक सुवेदीले अस्ट्रेलिया, यूरोप, हङकङ, भारत लगायतका देशहरूमा रिलिजको लागि त्यहाँस्थित वितरकहरूसँगको छलफल सकारात्मक हुँदै अन्तिम चरणमा पुगेको बताएका छन् ।
जापान र कोरियामा उज्ज्वल गुरागाईँ र यूएनए इन्टरटेन्मेन्ट, अमेरिकामा ‘एक्का बास्सा इन्टरटेन्मेन्ट’ र ‘लाइभ एट प्रिजेन्ट’ले ‘रङ्गेली’ रिलिज गर्दैछन् । त्यस्तै मलेशिया, दुबई, कतार, बहराइन, साउदी र ओमनमा सुरज लम्साल र ‘एक्का बास्सा इन्टरटेन्मेन्ट’ले रिलिज गर्दैछन् ।
दर्शकको ‘वर्ड अफ माउथ’का कारण फिल्मको अकुपेन्सी बढिरहेको निर्माण पक्षले जानकारी दिएको छ । मङ्गलवारका अधिकतम शो हरूमा ७० प्रतिशत अकुपेन्सी र बुधवार धेरै हलहरूमा ५० प्रतिशत छुटको अफर रहेको कारण दर्शकको चाप थप बढी देखिएको छ ।
‘रङ्गेली’मा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको अभिनय रहेको छ । यसका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता र सुशन प्रजापति छायाँकार हुन् ।













