सेन्सरमा रोकियो ‘परस्त्री’

फिल्म। केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले नेपाली फिल्म ‘परस्त्री’लाई प्रदर्शन अनुमति दिन अस्वीकार गरेको छ । मंगलवार भएको फिल्मको सेन्सर पश्चात चुम्बन, बेडसिन र हिंसाका दृश्यप्रति आपत्ति जनाउँदै बोर्डले फिल्म प्रदर्शनको अनुमति दिन अस्विकार गरेको हो । ती दृश्य हटाएमात्र प्रदर्शन अनुमति दिन सकिने बताईएपछि ‘परस्त्री’ ले प्रदर्शन अनुमति पाएन ।

निर्मात्री शर्मिला पाण्डेले पनि सेन्सर बोर्डले केही दृश्यमा आपत्ति जनाउँदै फिल्म रोकिएको जानकारी दिइन् । ‘ती दृश्य हटाउँदा फिल्मको कथा नै समाप्त हुन्छ । हामी हटाउन तयार छैनौं । बरु, कानूनी उपचारमा जान्छौं’, उनले भनिन्, ‘सेन्सर बोर्डको यो कार्यप्रति हाम्रो आपत्ति छ ।’

वितरक करण क्रेजीले सेन्सर बोर्डले फिल्म रोकेकोप्रति आपत्ति जनाए । सुरज पाण्डे निर्देशित यो फिल्म असार १५ गते प्रदर्शन तयारीमा छ । विवाहेत्तर सम्बन्धको कथावस्तुमा निर्माण भएको यो फिल्ममा प्रशस्त बोल्ड दृश्य समेटिएको छ । यसमा कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट लगायतका कलाकारले अभिनय गरेका छन् ।

कमेन्ट गर्नुहोस्