फिल्म। चर्चित फिल्म ‘शायद’ को तेस्रो शृंखला बन्ने भएको छ। संयम पुरी, सुशील श्रेष्ठ, सुशील सिटौला जस्ता कलाकारलाई नेपाली रजतपटमा परिचित गराउन सफल फिल्मको तेस्रो सिरिजमा नयाँ अनुहार रहने वा स्थापित अनुहारले स्थान पाउने भन्ने विषयमा जानकारी गराईएको छैन। यद्यपि फिल्म बन्ने घोषणा भएको छ। तेस्रो सिरिजलाई दुई सिरिज निर्माण गरेका सुनिल रावलले नभई राजु कँडेलले निर्माण तथा निर्देशन गर्दैछन्।
अष्ट्रेलियामा बसोबास गरेर नेपाली फिल्मसँगको गतिविधीमा सक्रिय देखिएका राजुको यो डेब्यु निर्देशकीय फिल्म हुनेछ। उनले फिल्म सम्बन्धी अध्यनसमेत गरेका छन्। ‘फिल्म सम्बन्धी अध्यन गरेकाले पनि यो मेरो लागि खास हुनेछ। सफल फिल्मको सिरिजलाई निर्देशन गर्न पाउनु अवसरसँगै चुनौती पनि हो”, निर्देशक राजुले भने। आफ्नो फिल्मको तेस्रो सिरिज बन्ने खबरले उत्साहित रहेको निर्माता सुनिलले बताए।
‘मैले यहिँ फिल्ममार्फत आफूलाई सफल निर्माताको रूपमा स्थापित गरे। अन्य व्यानरबाट नै यो फिल्म बन्ने हुँदा पनि निकै उत्साहित छु। जसरी मैले यो सिरिजमार्फत संयम, सुशील जस्ता कलाकार भित्र्याए, तेस्रो सिरिजबाट प्रवासमा रहेर नेपाली फिल्म अध्यन गर्नुभएका युवा निर्देशन बनेर भित्रिदै हुनुहुन्छ। म खुशी र उत्साहित छु’, निर्माता रावलले भने।
आरोन कान फिल्मसको व्यानरमा निर्माण हुने फिल्ममा निर्देशक राजुकै कथा हुनेछ भने पटकथामा अभिमन्यु निरवीसँग सहकार्य गरेका छन्। यसको छायांकन सुसन प्रजापतीले गर्नेछन्। यम प्रसाद ओलीको प्रोडक्शन डिजाइनर रहेको फिल्मको अस्सी प्रतिशत छायांकन अष्ट्रेलिया र बीस प्रतिशत छायांकन नेपालमा हुनेछ।











