फिल्म । वसन्त निरौलाको निर्देशनमा तयार भएको फिल्म ‘ज्वाइँ साब’ को सार्वजनिक टिजर तथा गीतलाई दर्शकले रुचाएका छन्। दर्शकबीच उत्सुकता बढ्नु र गायक निशान भट्टराई र गायिका समीक्षा अधिकारीको स्वरमा रहेको गीत ‘कसम बत्तीको’ टिकटक र रिल्समा लोकप्रिय हुनुले यसको चर्चा बढाएको हो । फूलपातीको अवसर पारेर आगामी असोज २४ गते रिलिज हुन लागेको ‘ज्वाइँ साब’को यो गीतले चर्चा दिएसँगै विदेशका प्रदर्शकले फिल्म प्रति चासो देखाएका छन् ।
निर्माण पक्षले अस्ट्रेलिया, अमेरिका लगायतका देशबाट फिल्मको विषयमा चासो राखिएको जनाएको छ । ‘पोस्टर र टिजरले फिल्मको हाइप क्रिएट गरेको थियो । गीत आएपछि हाइप झन् बढेको छ । अहिले विदेशबाट समेत यसको माग आइरहेको छ’, निर्देशक निरौलाले भने । फिल्मका वितरक करण श्रेष्ठले पनि विदेशमा र स्वदेशमा फिल्म एकै दिन रिलिज गर्ने तयारी गरिरहेको जानकारी दिए ।
फिल्मको कथा रोचक र नयाँपनले भरिपूर्ण भएकाले यसपटकको दसैँको रौनकलाई थप उत्साहपूर्ण बनाउने विश्वास निर्माण पक्षको छ । राजकुमार पण्डितको प्रस्तुतिमा तयार भएको यो फिल्मको शिर्ष भूमिकामा कलाकार जितु नेपाल छन् । उनलाई नायिका नीति शाहले साथ दिएकी छिन् । फिल्ममा वुद्दि तामाङ, शिशिर वाङ्देल, प्रकाश घिमिरे, रमेश वुढाथोकी, निमा पाण्डे, हिमेश पन्त, शिवहरि वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे लगायतका कलाकारहरुको अभिनय छ ।
फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ । रेड आई फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्य रहेको यो फिल्ममा मिनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ । फिल्ममा श्याम तामाङको डीओपी, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ । यो फिल्मलाई काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ ।