‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ को एघारौँ संस्करण मङ्सिर २३ देखि

फिल्म । ‘सामूहिक अधिकार’ नारासहित नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको एघारौँ संस्करण यही मङ्सिर २३ देखि २६ गतेसम्म काठमाडौँको नेपाल पर्यटन बोर्ड र चावहिलस्थित चलचित्र विकास बोर्डमा सञ्चालन हुनेछ । मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा चार दिनसम्म चल्ने महोत्सवको सुरुआत सुभांगी खड्काको वृत्तचित्र ‘द एज अफ लर्निङ’ प्रदर्शन गरिनेछ ।

महोत्सवका निर्देशक तथा मानव अधिकार चलचित्र केन्द्रका कार्यकारी निर्देशक पाण्डव खत्री सामाजिक न्याय र मानवअधिकार प्रवर्द्धनका उद्देश्यले सुरु गरिएको महोत्सवको ११ औं संस्करण आयोजना हुनु मुलुककै लागि गर्वको विषय भएको बताउँछन् । महोत्सवले नेपाली चलचित्र र चलचित्रकर्मीलाई ‘एक्सपोजर’को अवसर मात्रै होइन, मानवअधिकारको विषयलाई थप शसक्त बनाउनसमेत भूमिका खेलेको उनको भनाइ छ । ‘महोत्सवमा चलचित्र प्रदर्शनसँगै चलचित्रकर्मी, दर्शक, विश्लेषक र मानव अधिकारकर्मीबीच सिनेमा र मानव अधिकारको विषयम बहस गर्दै आइरहेका छौँ । महोत्सवले स्वदेशी तथा विदेशी चलचित्रकर्मी र मानव अधिकारकर्मीबीच अन्तरक्रियाको अवसर प्रदान गर्छ’, उनी भन्छन् ।

विश्वभरीबाट खुल्ला आवेदनबाट संकलन गरिएका डकुमेन्ट्री, सर्ट, एनिमेसन र फिक्सन गरी २६ देशका ५४ वटा चलचित्रहरु यस महोत्सवमा प्रदर्शन गरिनेछ । महोत्सवको जुरीमा बेलायतका माइकल ब्राउन, भारतकी अनुपमा बोस र नेपालकी पशुपति राई रहेका छन् । महोत्सवमा जुरीबाट छनौट भएका उत्कृष्ट पाँच चलचित्रहरुलाई अन्तर्राष्ट्रिय फिचर प्रतिस्पर्धा, अन्तर्राष्ट्रिय शर्ट फिक्सन तथा ननफिक्सन र नेपाली सर्ट फिक्सन तथा ननफिक्सन विधामा नगद सहित पुरस्कार प्रदान गरिने छ । त्यस्तै महोत्सवमा एकजना उत्कृष्ट नेपाली महिला निर्देशकलाई पनि पुरस्कृत गरिनेछ ।

महोत्सवमा चलचित्र प्रदर्शनसँगै चलचित्रकर्मी, दर्शक, विश्लेषक र मानव अधिकारकर्मीबीचको बहस हुनेछ । यसवर्ष महोत्सवमा ‘सिनेमा विकासको लागि राजनीतिक प्रतिवद्धता’ र ‘सामूहिका अधिकार : अन्तर्राष्टिय प्रतिवद्धता, अभ्यास र राज्यको दायित्व’ विषयमा राजनीतिकर्मी, अधिकारकर्मी र चलचित्रकर्मीहरुबीच दुईओटा प्यानल छलफल पनि राखिएको छ । साथै महोत्सवा मानव अधिकारसँग सम्बन्धित फोटो प्रदर्शनी पनि हपुनेछ । महोत्सवको समापन समारोहमा बेलायतको एल्हम एहसासको सर्ट फिल्म ‘येल्लो’ प्रदर्शन हुनेछ ।

कमेन्ट गर्नुहोस्