एकसाथ तीन वर्षको अवार्ड

फिल्म। काठमाडौंस्थित आर्मी अफिसर्स क्लबमा शुक्रबार एक समारोहको आयोजना गर्दै ‘एलजी सिने सर्कल अवार्ड’ सम्पन्न भएको छ। सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादव प्रमुख अतिथि रहनुभएको समारोहमा २०७७, २०७८ र २०७९ सालमा प्रदर्शन भएका नेपाली चलचित्रलाई पुरस्कृत गरिएको छ। तीन वर्षदेखि रोकिएको अवार्ड समारोहमा कलाकर्मीलाई पुरस्कृत गर्न पाउँदा खुशी लागेको उपराष्ट्रपति यादवले बताउनुभयो। “यो क्षेत्रले मनोरञ्जन प्रदान गर्ने मात्र नभई हाम्रो मौलिक भाषा, भेषभूषा, संस्कृति र इतिहासको संरक्षण र सम्वर्द्धन पनि गरिरहेको छ। यो सिर्जनशिल कलाकर्मीको मेहनत र लगावको प्रतिफल हो”,उपराष्ट्रपति यादवले भन्नुभयो,“सिमित स्रोत, साधन र बजारको बाबजुद नेपाली चलचित्रले निर्माण गरेको उचाई हाम्रो लागि गौरवको विषय हो। किनकि चलचित्र हाम्रो समाजको ऐना हो।”

उहाँले समारोहमा दुई पाका प्राविधिकलाई दीर्घसाधना सम्मान प्रदान गर्नुभयो। समारोहमा भान्छा व्यवस्थापक जेठा दाइका उपनामले परिचित कुलबहादुर महत र शृङ्गारकर्ता सन्तु तामाङलाई नगद राशी एकाउन्न हजारसहित सम्मान पत्र प्रदान गरिएको थियो। अवार्ड आयोजक दिनेश डिसीले पर्दामा देखिने वस्तु वा व्यक्ति चम्काउन जीवन बिताए पनि योगदान गौण जस्तो देखिने तर महत्वपूर्ण कर्मशील हातलाई सलाम गर्ने उद्देश्यले सम्मान गरिएको बताउनुभयो। समारोहमा क्याराभान र हनी हन्टर चलचित्रका फ्रान्सेली निर्देशक एरिक भ्याली, निर्देशक निश्चल बस्नेत, निर्माता सन्तोष सेनसँगै कलाकारद्वय दीपक राज गिरी र दीपा श्री निरौलालाई ’ट्रेण्डसेटर अवार्ड’ प्रदान गरिएको थियो।

विक्रम संवत २०७७ को चलचित्रतर्फ पटकथामा दिपेन्द्र लामा र सामिप्यराज तिमिल्सिना (गोपी), छायां्कारमा मानकृष्ण महर्जन (छिरिङ), सम्पादनमा निमेष श्रेष्ठ (साइली), अभिनेतामा विपिन कार्की (गोपी), अभिनेत्रीमा स्वस्तिमा खड्का (बुलबुल), निर्देशकमा दिपेन्द्र लामा (गोपी) बाट पुरस्कार जित्नुभयो भने चलचित्रमा गोपी वर्षको उत्कृष्ट घोषित भयो। यस्तै, विक्रम संवत २०७८ मा पटकथामा दीपेन्द्र के खनाल (आमा), युगल जोडी कलाकारमा पल शाह र पूजा शर्मा (म यस्तो गीत गाउँछु २), छायांकारमा सौरभ लामा (म यस्तो गीत गाउँछु २), सम्पादकमा दीर्घ खड्का (आमा), अभिनेतामा दयाहाङ राई ( कबड्डी ३), अभिनेत्रीमा सुरक्षा पन्त (आमा), निर्देशकमा दीपेन्द्र के खनाल (आमा) बाट पुरस्कार जित्नुभयो भने आमा वर्षको उत्कृष्ट चलचित्र घोषित भयो।

यस्तै, विक्रम संवत २०७९ मा ट्रेलरमा जीवन थापा (प्रकाश), द्वन्द्व संयोजकमा रोशन श्रेष्ठ (नालापानी), गायनमा गायकतर्फ रामकृष्ण ढकाल (हिजोआजका कुरा) र गायिकातर्फ अस्मिता अधिकारी (बाबरी), सङ्गीतकारमा दीपक शर्मा (छक्का पञ्जा ४), गीतकारमा राजेश श्रेष्ठ (प्रेमगीत ३), नव निर्देशक कपिल रिजाल (ह्यारी कि प्यारी), युगल जोडी कलाकारमा धिरज मगर र अदिती बुढाथोकी (बाबरी), नृत्य निर्देशनमा कविराज गहतराज (छक्का पञ्जा ४), सम्पादनमा मनिश शाह÷भूपेन्द्र अधिकारी (प्रेम गीत ३)छायांकारमा बिष्णु कल्पित (झिङ्गेदाउ), निर्देशकमा प्रदीप भट्टराई (महापुरुष), अभिनेतामा हरिवंश आचार्य (महापुरुष), अभिनेत्रीमा केकी अधिकारी (झिङ्गेदाउ) बात पुरस्कार जित्नुभयो भने वर्षको उत्कृष्ट चलचित्र महापुरुष घोषित भयो।

समीक्षक अवार्डतर्फ अभिनेतामा प्रदीप खड्का (प्रकाश) र अभिनेत्रीमा दीया मास्के (प्रकाश) बाट पुरस्कृत हुनुभयो। अभिनेता खड्काले आफ्नो अभिनय यात्रामा गरेको फरक काम रुचाइएकोमा खुसी व्यक्त गर्नुभयो। “मैले आफूलाई स्टारडम भन्दा बाहिर ल्याएर कलाकार बन्ने प्रयास गरेको थिए। मैले प्राप्त गर्ने यस्ता पुरस्कारले मलाई आगामी दिनमा त्यस्ता काम गर्न हौसला मिल्छ”,अभिनेता खड्काले भन्नुभयो।

कमेन्ट गर्नुहोस्