काठमाडौंमा निफ सुरू

फिल्म। नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को छैठौँ संस्करण काठमाडौंमा सुरू भएको छ। ‘विश्वभरीका कथाहरुको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ नारासहित महोत्सवको सुरूवात कोरिन शर्मा निर्देशित ‘चरी’ देखाउदै भएको हो। ३५ देशबाट ९५ चलचित्र सहभागी महोत्सवको उद्घाटन समारोहमा बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले उत्सवको रूपमा मनाउन आग्रह गर्नुभयो।

महोत्सवका अध्यक्ष केपी पाठकले पछिल्लो तीन महिनाको मेहनतले निफलाई सुरूवात गर्न सफल भएको जानकारी दिनुभयो। उहाँको अनुसार महोत्सवमा २० देशबाट ५० बढी चलचित्रकर्मी सहभागी हुनुहुन्छ। उहाँहरूले विभिन्न चलचित्र हेर्नुका साथै हुने अन्तरक्रिया र छलफलमा सहभागिता जनाउनु हुनेछ। चैत ६ गतेसम्म चल्ने महोत्सवमा रचनात्मक कार्यक्रमलाई विशेष महत्व दिएको उहाँले जानकारी दिनुभयो। सात विधामा १४ पुरस्कार वितरण हुने महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्र प्रतिस्पर्धामा छन् ।

नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीले आयोजना गरेको महोत्सवको उद्घाटन समारोहमा चिनियाँ राजदूत चेन सोङ,भारत, ब्राजिल र युरोपेली आयोगका कूटनीतिज्ञहरु, फिचर चलचित्रतर्फका जुरी प्रमुख प्रेमेन्द्र मजुमदार र छोटो तथा डकुमेन्ट्री चलचित्रतर्फकी जुरी प्रमुख ली रानको उपस्थिति रहेको थियो। चिनियाँ फिल्म एकेडेमीकी प्राध्यापक ली रानले ‘चिनियाँ फिल्मको भाष्य, बुझाइ र विश्वकै ठूलो फिल्म बजार’, भारतीय निर्देशक प्रेमेन्द्र मजुमदारले घरेलु फिल्म, प्राध्यापक इटामी बोर्जनको मास्टरक्लास महोत्सवमा रहनेछ। भूराजनीतिमा चलचित्रको भूमिका, नेपाली दर्शकको विकासक्रम, चलचित्रनीति : नीति मात्रै कि व्यवहार पनि, चलचित्र कास्टिङ : महत्व र अभ्यास, हास्य–व्यङ्ग्यले हौसिएको नेपाली चलचित्र र आमा नायिका : जिम्मेवारी र करिअरजस्ता विषयमा अन्तरक्रिया तथा छलफल हुनेछ ।

कमेन्ट गर्नुहोस्