‘कङ्गारु’ मा केदारसँगै जीतु

फिल्म । नेपाली फिल्म ‘कङ्गारु’मा कलाकार जीतु नेपाल अनुबन्धित भएका छन् । सम्राट बस्नेतको निर्देशनमा बन्ने फिल्मका लागि निर्माण पक्षले शुक्रबार जीतुसँग कागजी सम्झौता गरेको हो । जीतुले फिल्ममा काम गर्ने सम्झौता गर्दा आफू निकै उत्साही भएको प्रतिक्रिया दिएका छन् । ‘फिल्म ज्वाइँ साबको सेटमै आएर हस्ताक्षर गराउनु भयो, यो अवसरका लागी निर्देशकसहितको टिम प्रति आभारी छु’, अभिनेता नेपालले सामाजिक सञ्जालमा उल्लेख गरेकाछन् ।

यो फिल्ममा यसअघि कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ र अर्पण थापा अनुबन्धित भइसकेका छन् । राजिव गुरुङ ‘दीपक मनाङ्गे’को प्रस्तुतिमा तयार हुने फिल्म सस्पेन्स, थ्रीलर र कमेडी जनरामा निर्माण गर्न लागिएको हो । निर्देशक बस्नेतले केही दिनमा अभिनेत्री तय गरेसँगै फिल्मको छायांकन गर्ने बताएका छन् । उनका अनुसार फिल्मको छायांकन अस्ट्रेलियाको सिड्नी, न्यूकासल, क्यानबेरा लगाएतका सहरमा गरिनेछ ।

यो फिल्म फुलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एन्ड फिल्मसँग एसजिटी प्रोडक्सन प्रालीको सहकार्यमा निर्माण हुँदैछ । फिल्ममा प्रेम थापा, धन बहादुर गुरुङ ‘डिबी’ र मनोज भण्डारी ‘म्याक्स’ निर्माताको रुपमा छन् । फिल्ममा सिमा गुरुङको कथा, सुशन प्रजापतिको छायांकन रहनेछ ।

कमेन्ट गर्नुहोस्