निफमा ‘राजागंज’ सर्वोत्कृष्ट घोषित, नाजिर र सुरक्षाले जिते अवार्ड

फिल्म । नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ)मा सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय फिल्मको अवार्ड निर्देशक दीपक रौनियारको ‘राजागंज : पूजा सर’ले जितेको छ । काठमाडौंको सुन्धारास्थित सिभिल मलमा सोमबार आयोजित समापन समारोहमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतिथ्यतामा उक्त फिल्मलाई ट्रफी र १,५०० अमेरिकी डलर पुरस्कारसहित सम्मान गरिएको हो ।

सर्वोत्कृष्ट राष्ट्रिय फिल्मको अवार्ड समुन्द्र भट्ट निर्देशित ‘गुन्यू चोलो : द ड्रेस’ले प्राप्त गरेको छ । यस फिल्मलाई ट्रफीसहित १,००० अमेरिकी डलर प्रदान गरिएको छ । यही फिल्मबाट समुन्द्र भट्ट उत्कृष्ट निर्देशक घोषित भइन् भने नाजिर हुसेनले सर्वोत्कृष्ट नायकको अवार्ड जिते । फिल्म ‘कोशेढुङ्गा’बाट सुरक्षा पन्त सर्वोत्कृष्ट नायिका घोषित भइन् । राष्ट्रियतर्फ सर्वोत्कृष्ट पटकथाकारको अवार्ड ‘केटी हराएको सूचना’बाट दीपेन्द्र गौचनले प्राप्त गरे भने ‘कोशेढुङ्गा’कै बाबु श्रेष्ठ सर्वोत्कृष्ट सिनेमेटोग्राफर घोषित भए ।

दक्षिण एसियाली प्रतिस्पर्धाअन्तर्गत नेपाली भाषाको भारतीय फिल्म ‘जार’ सर्वोत्कृष्ट घोषित भएको छ । फुर्वा क्षिरिङ लामा निर्देशित उक्त फिल्मलाई ट्रफी र ५०० अमेरिकी डलर प्रदान गरिएको छ । सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्रीको अवार्ड आइसल्यान्डको ‘ग्राउन्ड बिनिथ आवर फिट’ले जितेको छ । इर्सा रोका फ्यानबर्ग निर्देशित उक्त डकुमेन्ट्रीलाई ट्रफी र १,००० अमेरिकी डलर प्रदान गरिएको छ ।

त्यस्तै, सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय सर्ट फिल्मको अवार्ड इरानको ‘सिप’ले जितेको छ । हादी बाबेइफरद्वारा निर्देशित उक्त फिल्मलाई ट्रफी र ५०० अमेरिकी डलर प्रदान गरिएको छ । सर्वोत्कृष्ट एआई थिम्ड सर्ट फिल्मको अवार्ड ‘स्पिरिट अफ द माउन्टेन’ले जितेको छ । पाङ जियाद्वारा निर्देशित चिनियाँ फिल्मलाई ट्रफी र ५०० अमेरिकी डलर प्रदान गरिएको छ ।

सर्वोत्कृष्ट विद्यार्थी फिल्मको अवार्ड मेक्सिकोको ‘पासारिन्हो’लाई प्रदान गरिएको छ । उक्त फिल्मलाई ट्रफी र ५०० अमेरिकी डलरले सम्मान गरिएको छ। सर्वोत्कृष्ट राष्ट्रिय डकुमेन्ट्री दीपक छोदेन लामाको ‘होम इज नट अ प्लेस’ र सर्वोत्कृष्ट राष्ट्रिय सर्ट फिल्म सुरज पौडेलको ‘रिहाना’ घोषित भएका छन्। दुवैलाई ट्रफीसहित ५० हजार रुपैयाँ प्रदान गरिएको छ।

डन किहोते सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय फिल्म अवार्ड इरानी फिल्म ‘माई डटर्स हेयर’ले प्राप्त गरेको छ । हेसाम फराहमान्दद्वारा निर्देशित उक्त फिल्मलाई प्रमाणपत्र प्रदान गरिएको छ। स्पेशल मेन्सन राष्ट्रिय डकुमेन्ट्रीतर्फ ङिमा गेलु शेर्पाको ‘एज डे गोज बाइ’लाई सम्मान गरिएको छ भने अन्तर्राष्ट्रिय सर्ट फिल्मतर्फ भारतको ‘हाउसकिप्पर’ (निर्देशक सुर्या बालाकृष्ण) लाई प्रमाणपत्र प्रदान गरिएको छ।

स्पेशल जुरी मेन्सन अन्तर्राष्ट्रिय फिल्म अवार्ड चिनियाँ फिल्म ‘द शोर अफ लाइफ’लाई प्रदान गरिएको छ। ची झाङ निर्देशित उक्त फिल्मलाई प्रमाणपत्रद्वारा सम्मान गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि हार्तम्छालीले निफले विदेशी फिल्म उद्योगसँग नेपाली फिल्मलाई जोड्ने महत्वपूर्ण काम गरेको भन्दै अध्यक्ष केपी पाठकलाई धन्यवाद व्यक्त गरे। निफका अध्यक्ष पाठकले महोत्सव सफल पार्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे। यस वर्षको निफ चैत १९ गतेदेखि सुरु भएको थियो।

कमेन्ट गर्नुहोस्