फिल्म। अष्ट्रेलियाको प्रतिष्ठित ‘टाइटन फिल्म फेस्टिभल’मा अभिनेत्री ऋचा शर्माले सर्ट फिल्म ‘ब्लड मनी’बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छिन् । सिड्नीमा आयोजना भएको फेस्टिभलमा जितेको अवार्डको साथमा ऋचा यही बुधबार नेपाल फर्किँदैछिन् । सय बढी देशका फिल्मबीच भएको प्रतिस्पर्धामा ‘ब्लड मनी’ले उत्कृष्ट अभिनेत्रीको अवार्ड जित्न सफल भएको हो । फेस्टिभलमा यो फिल्मको कथावस्तुलाई गम्भीर र फरक रुपमा हेरिएको र विभिन्न देशका मेकरले नेपालमा छायांकन गर्ने इच्छा देखाएको लेखक तथा निर्देशक अशोक तिमल्सिनाले जानकारी दिए ।
सिंगापुरको ओल्ड फिल्म कार्निभल, व्हाइट पिलर इन्टरनेशनल फिल्म फेस्टिभल, अथ्विकवारुणी इन्टरनेशनल फिल्म फेस्टिभलमा ‘बेस्ट फिल्म अफ द इयर’को अवार्ड समेत जितेको जानकारी उनले दिए । २८ मिनेटको फिल्ममा ऋचासँगै मिथिला शर्मा, सौरभ पौडेल, पारस तिमल्सिना, विराज पराजुलीको पनि अभिनय छ । यो फिल्म ओएसआर डिजिटलको युट्युब च्यानलमा सार्वजनिक भइसकेको छ ।











