बोर्डले पुरस्कारसंगै नगदराशी पनि प्रदान गर्दै

फिल्म । आउँदो असार २७ मा आयोजना हुने भनिएको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान’ मा यसपटकबाट नगदराशी पनि प्रदान गरिने भएको छ । हरेक वर्ष आयोजना हुने राष्ट्रिय चलचित्र पुरस्कार समारोह विविध कारणले २०७४ र ०७५ मा हुनसकेको थिएन । त्यसैले पनि यसपटकको पुरस्कार समारोहलाई विशेषरुपमा आयोजना गर्ने तयारी बोर्डले गरिरहेको छ । यसपटक समारोहमा २०७३, २०७४ र २०७५ गरी तीन वर्षको राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान प्रदान गरिने भएको छ ।

तीन वर्षकै नेपाली चलचित्र हेरेर निर्णायकले बोर्डमा परिणाम बुझाइसकेका छन् । राष्ट्रपति विधादेवी भण्डारीको हातबाट प्रदान हुने यो पुरस्कारमा यसपटक सम्मानपत्र र अवार्डसँगै नगदराशी पुरस्कारको पनि व्यवस्था गरिएको हो । २०७३, ०७४ र ०७५ सालमा यो पुरस्कारबाट पुरस्कृत हुनेहरुलाई प्रति विधामा जनही २५ हजार रुपैयाँ समेत प्रदान गरिने चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले बताएका छन् । उनले गत असार १६ मै आयोजित समारोहमा आउँदो वर्षबाट ५१ हजार दिएपनि पहिलेका पनि केहि भने अवश्य दिने घोषणा गरेका थिए ।

‘अघिल्लो तिन वर्षको विजेतालाई जनही २५ हजारका दरले प्रदान गर्ने छौ भने आउँदो वर्षबाट त्यो रकम बढेर ५१ हजारमा पुग्नेछ’ अध्यक्ष भट्टराईले बताए । साथै , गत असार १६ मा नेपाली चलचित्र क्षेत्रमा विभिन्न विधामा सम्मानित हुनुहुने सबै विशिष्ट चलचित्रकर्मी, सर्जक तथा संस्थाहरुलाई सम्मान स्वरुप जनही २५ हजार रुपैयाँ प्रदान गरिने निर्णय चलचित्र विकास बोर्डले गरेको छ ।

यता राष्ट्रिय चलचित्र पुरस्कार समारोहलाई चलचित्रमय बनाउन अग्रजदेखि नयाँ पुस्तासम्मका विभिन्न नायक नायिकाहरुले करिब १२ मिनटको नृत्य प्रस्तुत गर्नुहुने भएको छ । जसका लागि एक साता यताबाट नृत्य अभ्यास भईरहेको छ । पहिलो चलचित्र आमादेखि अहिलेसम्मका चलचित्रका चर्चित एवम् कालजायी गीतमा कलाकारहरुले पुरस्कार समारोहमा नृत्य प्रस्तुत गर्नु हुनेछ ।

नृत्य निर्देशकहरुः बसन्त श्रेष्ठ, राजु शाह र कविराज गहतराजले अहिले विभिन्न गीतमा नृत्य प्रशिक्षण गराईरहनु भएको छ । यसपटक पुरस्कार समारोहमा नृत्य प्रस्तुत गर्नका लागि अग्रज अभिनेता अभिनेत्री सरोज खनाल, गौरी मल्ल, सनी रौनियार, रमेश उप्रेती, दिपिल रायमाझी, दिपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, रेजिना उप्रेती, नृत्य प्रशिक्षणमा व्यस्त हुनुहुन्छ ।

यस्तै समकालीन पुस्ताका अभिनेता अभिनेत्रीहरुः केदार घिमिरे, पुष्प खड्का, नीता ढुंगाना, पवित्रा आचार्य, बिमला के.सी., छुल्ठिम गुरुङ लगायत विभिन्न कलाकारहरु पनि नृत्य अभ्यासमा व्यस्त हुनुहुन्छ । यो अभ्यास बुधबारसम्म सम्पन्न हुने वरिष्ठ नृत्य निर्देशक बसन्त श्रेष्ठले जानकारी गराउनु भएको छ ।

कमेन्ट गर्नुहोस्