फिल्म । सन् १८१४ मा देहरादुनस्थित नालापानीगढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधारित फिल्म ‘नालापानी’लाई सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्याल, नेपाली सेनाका पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्री, नेपाली सेनाका बलाधिकृत जनरल शरद प्रताप राणा, केन्द्रीय चलचित्र जाँच समितिका अध्यक्ष सेवन्तक पोखरेल, नेपाल सरकारका पूर्वसचिव भीम उपाध्याय लगायतका विशिष्ट व्यक्तिहरूले हेरेकाछन् । आइतबार चलचित्र विकास बोर्डको हलमा आयोजित विशेष शो हेरेपछि सञ्चार सचिव डा. अर्यालले पर्दामा ऐतिहासिक विषयवस्तु हेर्न पाउँदा खुसी व्यक्त गरे ।
‘नेपालको इतिहास प्रष्ट हुने फिल्म बनेको रहेछ । पुर्खाको बलिदानको यथार्थ चित्रण पाएँ । नेपाल निर्माण हुँदा भोग्नुपरेको दुख र समस्याहरू नयाँपुस्ताले यसबाट सहजै बुझ्सकनेछन्’, सञ्चार सचिव डा. अर्यालले भने । पूर्व प्रधानसेनापति क्षेत्रीले फिल्म ‘नालापानी’ इतिहासको दस्तावेजको रुपमा रहने प्रतिक्रिया दिए । उनले नेपाललाई स्वाधिन राख्न महिला र बालबालिकाले समेत युद्द लडेको इतिहासलाई जीवन्त बनाएको प्रतिक्रिया दिए । ‘म प्रधानसेनापति रहँदा नै फिल्म बन्ने जानकारी पाएको थिएँ । यस्ता फिल्मलाई उत्साहित गर्नुपर्छ भनेर हामीले सकेको सहयोग गरेका थियौँ’, क्षत्रीले भने ।
केन्द्रीय चलचित्र जाँच समितिका अध्यक्ष सेवन्तक पोखरेलले राष्ट्र र राष्ट्रियताको जगेर्ना हामीले कसरी गर्न सक्छौँ भन्ने कुराको शिक्षा फिल्मले दिएको बताए । फिल्ममा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, बिशाल पहारी, विजय बिष्फोट, पूजना प्रधान, गीता अधिकारी, महाविर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, शारिता राजोपाध्याय, लक्ष्मी नाथ, गायत्री घिमिरे, जनक बर्तौला, विशाल श्रेष्ठ, शहिना भट्टराई, गीत बिष्ट, युगजंग कार्की, सिमन खड्का, सुशील खडका (डेभिड), बाल कलाकार तेजस्वी गुरुङ, हार्दिक थपलिया, प्रनिस शाक्य, निर्माण थपलिया साथै विदेशी कलाकारहरू एन्ड्रोइन डंकन, रेचल मोलेस, पल विकिन्सन र सामलगायतको अभिनय छ । फिल्मलाई रिमेश अधिकारीले निर्माण तथा निर्देशन गरेका हुन् ।












