‘मैले सेन्सर सिफारिस पाउनु पर्छ’ : निर्माता थापा

फिल्म । विश्व हिन्दु महासंघ, शिव सेना नेपाल, विश्व हिन्दु युवा संघ, जगतगुरु आश्रम लगायत १३ संस्था आवद्ध हिन्दु जागरण नेपालले फिल्म ‘एक भगवत् गीता’को शीर्षक र पात्रले सनातन धर्ममाथि चोट पुर्‍याएको भन्दै प्रदर्शन रोक्न माग गर्दै चलचित्र विकास बोर्डमा निवेदन दिएपछि फिल्मको सेन्सर भएको छैन । भदौ २९ गतेबाट प्रदर्शन हुने भनिएको फिल्म जाँचपास (सेन्सर) गर्न बोर्डले केन्द्रीय चलचित्र जाँचपास समितिलाई सेन्सर सिफारिस दिएको छैन ।

निर्माता सुनिलकुमार थापाले बोर्डबाट इजाजत लिएर निर्माण गरिएको फिल्म सेन्सरमा नपुगी अड्किनु दुर्भाग्य भएको बताए । उनले भने,‘हामीले दिएको संदेश वा हामीले देखाउने दृश्यले कसैलाई असर गर्छ भने त्यसलाई रोक्ने निकाय सेन्सर बोर्ड छ । यद्यपि त्यहाँसम्म फिल्म पुग्न नदिनु गलत भईरहेको छ । हामी जस्ता पुराना निर्मातालाई अहिले आएर किन यो क्षेत्रमा लागे भन्ने महसुश भएको छ ।’ निर्माता थापा विगत तीन दशकदेखि फिल्मकर्ममा सक्रिय छन् ।

बोर्डका प्रवक्ता केएल बुढाथोकीले दुवै पक्षलाई मिलाएर अगाडी बढ्नु पर्ने भएकाले शुक्रबार बोर्डको बैठकमार्फत निर्णय गर्ने जानकारी दिए । ‘हामीले सेन्सर रोकेका छैनौँ । निवेदन परेकाले प्रक्रियामा केही ढिलाई भएको हो । हामी आगामी वैठकबाट यसबारे निर्णय लिनेछौं’, प्रवक्ता बुढाथोकीले भने ।

जागरण नेपालका अध्यक्ष रामकृष्ण पोखरेलले बोर्डलाई दिएको निवेदनमा कथासारसँग कुनै सम्बन्ध नरहेको शिर्षक व्यावसायिक प्रयोजनका लागि मात्र प्रयोग गरेर सनातन धर्म-संस्कृतिमाथि आँच पुर्‍याएको उल्लेख छ । निवेदनमा नाम परिवर्तन गरेर प्रदर्शन गरिएमा कुनै आपत्ति नरहेको उल्लेख छ । झरना थापा निर्देशित फिल्ममा विपिन कार्की, सुहाना थापा र धीरज मगरलगायतका कलाकारले अभिनय गरेका छन् ।

कमेन्ट गर्नुहोस्