प्रभावहीन ‘राष्ट्रिय चलचित्र दिवस’

फिल्म । असोज १ गते‘राष्ट्रिय चलचित्र दिवस’ घोषणा गरिएको एक दशक भइसकेको छ । तत्कालिन चलचित्र विकास बोर्डको अध्यक्ष गणेश भण्डारीको सक्रियतामा २०६८ साल देखि असोज १ लाई दिवसको रुपमा मनाउन थालिएको हो । तर दशक बितिसक्दा पनि यसको प्रभाव आम दर्शकमा पर्न सकेको छैन । नेपालमा बनेको पहिलो चलचित्र ‘आमा’को २०२२ असोज २२ गते रिलिज मितिको सन्दर्भलाई जोड्दै असोज १ गतेलाई ‘राष्ट्रिय चलचित्र दिवस’ मनाउन सुरु गरिएको हो । वि.सं. २००७ सालमा डीबी परियारको निर्देशनमा चलचित्र ‘सत्य हरिश्चन्द्र’ निर्माण भएको थियो । भारतको कलकत्तामा यो चलचित्र निर्माण भए पनि नेपालमै निर्माण भएको चलचित्र ‘आमा’लाई नेपालको पहिलो चलचित्र मानिएको हो ।

चलचित्रको विकास र यसको इतिहासको सम्झना गर्दै मनाईने दिवसको रुपमा यसलाई घोषणा गरिएको भएता पनि पछिल्लो समय यो क्यालेन्डरमै सिमित बनिरहेको छ । नेपाली चलचित्र र यससँग जोडिएको गतिविधि नहुने भएकाले पनि यसको महत्व दर्सिएको छैन । कोरोना भाइरसको महामारीका कारण दुई वर्ष कार्यक्रम नभएको बोर्डमा यसपटक पनि कुनै कार्यक्रम आयोजना भएन । चलचित्रसँग सम्बन्धित संघ संस्थाहरुले मिलेर दिवसलाई मनाउनु पर्ने चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले बताउनु हुन्छ । ‘‘बोर्डले दिवसलाई भव्य बनाउन अग्रसरता लिएको मैले पाएको छैन । चलचित्रसँग जोडिएको गतिविधि नहुँदा यो क्यालेन्डरमा मात्र सिमित बनिरहेको छ’’ अध्यक्ष खड्काले भन्नुभयो । उहाँले सबै संस्थाहरु मिलेर चलचित्र दिवसलाई दर्शकसम्म पुर्याउन सामुहिक छलफल गरेर कार्ययोजना बनाउनु पर्ने बताउनु हुन्छ ।

पुर्व अध्यक्ष राजकुमार राईको कार्यकालमा हलहरुमा दिपावली गरेर ‘राष्ट्रिय चलचित दिवस’ मनाइएको नेपाल चलचित्र संघको महासचिव नरेन्द्र महर्जन सम्झिनु भयो । ‘‘हामीलाई परिपत्र आउँदा दिपावली झैँ हल झिलिमिली गरेका थियौँ । दर्शकसँग प्रत्यक्ष रुपमा जोडिने कार्यक्रम नहुँदा दिवस ओझेलमा परिरहेको छ’’ महासचिव महर्जनले बताउनुभयो । चलचित्र संघले एउटा कार्यक्रम गर्ने तयारी गरेता पनि विविध कारणले त्यो गर्न नसकिएको उहाँको भनाइ छ ।

‘राष्ट्रिय चलचित्र दिवस’ लाई लक्षित गर्दै कार्यक्रमहरु गर्न आफ्नो संस्थाको तर्फबाट बोर्डलाई बारम्बार ध्यानाकर्षण गराएको चलचित्र निर्देशक समाजका महासचिव जनकदीप पराजुलीले बताउनु भयो । ‘‘हामीले ध्यान्याकर्षण पहिले पनि गराएका छौँ । यसलाई अन्य दिवस झैँ राष्ट्रव्यापी रुपमा मनाउनु पर्छ । सार्वजनिक विदा दिएर स्कुल देखि नै हरेक क्षेत्रमा मनाउन लगाउनु पर्छ । अनि मात्र अन्य दिवस झैँ यो ओझेलमा पर्दैन’’ महसचिव पराजुलीले बताउनु भयो ।

संघ संस्थाहरुका पदाधिकारीले बोर्डले अग्रसरता नलिएकै कारण दिवस प्रभावहीन भइरहेको बताइरहदा बोर्डले कार्यक्रम तय गर्न नसकेको अध्यक्ष भुवन केसीले स्वीकार्नु भयो । ‘‘हामीले कार्यक्रम गरेनौँ । किनकी प्रभाव पार्ने कार्यक्रम ल्याउने तयारी हाम्रो छ’’ बोर्ड अध्यक्ष केसीले भन्नुभयो । उहाँले आफू बोर्डमा केहि महिना अगाडी मात्र आएकोले पनि अहिले कार्यक्रम गर्न नसकिएको बताउनु भयो ।

अन्य देश झैँ नेपालमा पनि दर्शकलाई हलसम्म तान्ने कार्यक्रम गर्नुपर्ने चलचित पत्रकार संघका अध्यक्ष दिनेश सिटौलाले बताउनु भयो ।‘‘दर्शकलाई हलसम्म ल्याउन टिकटमा सहुलियत दिने , विविध सांस्कृतिक कार्यक्रम गर्ने , अन्तरक्रिया तथा र्‍याली गर्ने जस्ता गतिविधि कार्यक्रमले राष्ट्रिय चलचित्र दिवसलाई आम दर्शकसम्म पुर्याउन मदत गर्छ’’ अध्यक्ष सिटौलाले बताउनु भयो । बोर्ड मार्फत दिवसकै रुपमा घोषणा गरिएको एक दशक बितिसक्दा पनि ‘राष्ट्रिय चलचित्र दिवस’ सामाजिक सञ्जालमै सिमित हुनु भने दुःखद रहेको चलचित्रकर्मीहरुको गुनासो रहदै आएको छ ।

कमेन्ट गर्नुहोस्