यसकारण सौगात बने ‘बम बहादुर’

फिल्म । नेपाल र भारतमा पुस ५ गतेबाट एकसाथ रिलिज हुने फिल्म ‘बम बहादुर’ यहि सातादेखि प्रदर्शन हुँदैछ । फिल्मको सार्वजनिक प्रचारप्रसार सामग्रीले दर्शकको ध्यान तानिरहेको बेला अभिनेता सौगात मल्लले फिल्मको विषयमा बोलेका छन् । अभिनेता मल्लले फिल्मसँग जोडिनुको कारण आफ्नै जस्तो लाग्ने कता रहेको बताए ।

‘मलाई विश्वास गरी यो पात्रको लागि मलाई छनोट गर्नुभएकोमा निर्देशक निर्मातालाई धन्यवाद छ । स्क्रिप्ट पढ्दा मलाई आफ्नै कथा जस्तो महसुस भएको थियो । म निकै भावुक भएको थिएँ र तुरुन्तै मैले यो कथामा काम गर्छु भनेर सोच्न खासै समय लगाइन । नेपालमा बस्ने जतिले पनि यो सिनेमा हेर्नु हुन्छ यो कथा आफ्नै हो जस्तो लाग्छ भन्ने लाग्छ,’ मल्लले बताए ।

‘बम बहादुर’ ले सन् १९८६ मा दार्जिलिङमा भएको गोर्खाल्यान्ड आन्दोलनको पृष्ठभूमिमा मानव जीवनका आरोह-अवरोहहरूलाई पर्दामा उतारेको छ । यसले भारतका नेपाली, विशेष गरी दार्जिलिङ पहाड र छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपाली समुदायको सङ्घर्षका पलहरूलाई मार्मिक ढङ्गले चित्रण गरेको लेखक तथा निर्देशक जोन राईले बताए ।

उनले भने,‘अर्को उद्देश्य भनेको अब त्यस्तै प्रकारको आन्दोलन नहोस् । भिन्न प्रकारको शिक्षित समाज बनोस् तथा खुकुरी र बन्दुकले होइन दिमागले आन्दोलन गरौँ भन्ने हो ।’

बिस्ट ब्रदर्स फिल्म्स प्रा.लि.को निर्माणमा बनेको यस चलचित्रको प्रमुख भूमिकामा सौगात मल्ल रहेका छन् । अन्य कलाकारहरूमा प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास, मदन भुजेल, भरत वशिष्ठ, अजय प्रधान, शान्तिला तामाङ, रिया भुजेल, बाल कलाकार वशिस्ट कार्की, सुरेश पन्चकोटी, प्रभात पाख्रिन, बादल क्षेत्री, धीरज चाम्लिङ लगायतको अभिनय रहेको छ ।

‘बम बहादुर’का निर्माता सञ्जीव सार्की हुन् । जोन राई र रुपेश तामाङको कथा र पटकथा रहेको यस चलचित्रको छायाङ्कन सुजोय कुमार घोष ‘मुन्ना’ले गरेका छन् भने सम्पादन ज्ञान गुरुङले गरेका छन् । यसमा सङ्गीत तथा गीत दीपङ्कर सिंह मुखियाले तयार पारेका हुन् भने म्युजिक एरेन्जमेन्ट तथा ब्याकग्राउन्ड स्कोर इजाज अलीले गरेका छन् ।

चलचित्रका लाइन प्रोड्युसर प्रकाश हमाल, कलरिस्ट कुनाल कुँवर, साउन्ड मिक्सर मुकेश शाह हुन् । वितरण रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले गर्नेछ भने पोस्ट प्रोडक्शन नेपालमा क्लासिक सिने युनिभर्स र भारतमा हिलिङ अक्टेभ्ज स्टुडियोमा गरिएको हो ।

कमेन्ट गर्नुहोस्