फिल्म । गत शुक्रबारबाट प्रदर्शन भइरहेको फिल्म ‘झिँगेदाउ’ लाई दर्शक झैँ सेलिब्रेटी मार्फत पनि सुखद प्रतिक्रिया प्राप्त भइरहेको छ । निर्देशक ज्ञानेन्द्र देउजाको कमब्याक फिल्म ‘झिँगेदाउ’ले घरेलू बक्सअफिसमा सुखद् व्यापार गरिरहेको छ । बलियो ‘वर्ड अफ माउथ’ मिलेको फिल्मले ‘वीक डे’मा पनि दर्शकको अभाव झेल्नु परेको छैन । राजधानीसहित देशभर फिल्मको दिनहुँ ६० प्रतिशतभन्दा माथि अकुपेन्सी छ । यो फिल्म हेर्न युवापुस्ताभन्दा परिवारसहित हल पुग्ने दर्शकहरु धेरै देखिएका छन् ।
फिल्मले राम्रो प्रतिक्रिया बटुलीरहदा फिल्म हेर्न सेलेब्स पनि पुगिरहेका छन् । बुधवार अभिनेता राजेश हमालले पनि ‘झिँगेदाउ’ हेरिरहँदा आफूले आमालाई धेरै नै मिस गरेको बताए । ‘मैले फिल्म हेर्दा आमालाई सम्झिएँ । ‘मैले फिल्म हेरिरहँदा आमालाई भयंकर मिस गरेँ । आमा-बुबाप्रति सन्तानले गर्नुपर्ने कर्तव्यलाई यसले झकझकाउँछ । आधुनिक जमानामा हामीले आमा-बुबाप्रतिको भुलिरहेको जिम्मेवारी फिल्मले बोध पनि गराउँछ,’ हमालले भने ।
आमा र बुबा जीवनमा कति महत्त्वपूर्ण हुन्छन् भन्ने कुराहरु फिल्ममा दर्शाइएको र त्यसमा सबैले अपनत्व महसुस गर्ने हमालको धारणा छ । हमालसँगै फिल्म हेर्न पुगेका निर्देशक तुलसी घिमिरेले धेरैपछि आफूले एउटा इमोसनल फिल्म हेर्न पाएकोमा खुसी भाव प्रकट गरे । फिल्म एकदमै राम्रो रहेको बताउँदै उनले ‘झिँगेदाउ’ नेपाली कलर र फ्लेवरमाथि बनेको र यस्ता फिल्महरु बन्नुपर्ने बताए । बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले कलाकारको अभिनयसँगै निर्देशकिय पक्ष अब्बल रहेको प्रतिक्रिया दिए । फिल्म हेरिरहँदा ध्यान अन्त नजाने उनले सुनाए ।
बरिष्ठ कलाकार तथा निर्देशक नीर शाहले कृतिलाई ‘झिँगेदाउ’ले न्याय गरेको तर्क गरे । ‘समाजको कथाभित्रको पनि कथालाई लिएर निर्देशकले फिल्म बनाउनुभएको छ । यो फिल्म पूरै अर्गानिक छ’ शाहले भने । बुधवार दरवार सिनेमामा फिल्म हेरेपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, मदनकृष्ण श्रेष्ठ, शिव श्रेष्ठ, सरोज खनाल, किरण केसी, अशोक शर्मा, कृष्ण मल्ललगायतले पनि कलाकारको अभिनय, कथावस्तु र निर्देशक देउजाको कामको खुलेर प्रशंसा गरे ।
फिल्म देउरानी–जेठानीको झगडामा केन्द्रित रहेको छ । यो फिल्ममा केकी अधिकारी र आँचल शर्मा देउरानी–जेठानी बनेका छन् । फिल्मले देउरानी–जेठानीले झिंगेदाउ खेल्ने क्रममा उत्पन्न हुने परिस्थितिका कथा बयान गर्छ । पुरानो समयमा सिक्का राखेर यो दाउ खेलिन्थ्यो र जुन सिक्कामा आएर झिंगा बस्छ त्यो खेल्नेको हुने प्रचलन थियो । त्यहिँ इभेन्टले आउँदो समयमा निर्माण गर्ने घटनाक्रम फिल्ममा देखाइएको छ ।
यो फिल्मले आमा र दुई दाजुभाइको कथा पनि पेश गर्छ । फिल्ममा कुशल बिष्ट भाइ बनेका छन् । फिल्ममा हिउँवाला गौतम, संगम भण्डारी, आयान खड्का र अभय बरालको पनि महत्वपूर्ण भूमिका रहेको छ । फिल्ममा पटकथा प्रदीप भारद्वाजको रहेको छ ।











