स्व. भीमनिधिको परिवारले भने ,‘कृतिको मर्म फिल्ममा देखियो’

फिल्म । ज्ञानेन्द्र देउजा पुराना निर्देशक हुन् । प्राय स्टारहरुसँग स्टाइलिस फिल्म बनाएका देउजा पछिल्लो समय स्वर्गीय भीमनिधि तिवारीको कृति ‘झिँगेदाउ’ मा आधारित सोही नामको फिल्म लिएर दर्शक माँझ आए । आमा , दुई छोरा र दुई बुहारीको कथा रहेको फिल्मले राम्रो व्यापार गरिरहेको छ । फिल्म हेर्न परिवार नै हल पुग्न थालेपछि यसको आय लम्बिने अनुमान प्रदर्शक र वितरकले गरिरहेका छन् । त्यसो त ज्ञानेन्द्रले करियरको सुरुवाती समयमा नै लक्ष्मीप्रसाद देवकोटाको कृति ‘मुना मदन’ मा फिल्म बनाइसकेका थिए । सो समयमा उनले फिल्म बनाउछन् भन्ने कमैलाई लाग्याथ्यो । तर , फिल्म बनाएर तात्कालिन समयमा विरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा फिल्म देखाएपछि पाएको प्रतिक्रियाले उनलाई स्थापित नै गरायो ।

मसालेदार फिल्म निर्देशन गरिरहेका निर्देशक ज्ञानेन्द्रलाई स्वर्गीय देवकोटाको छोरा पदम देवकोटाले दिएको प्रतिक्रियाले उत्साहित बनायो । ‘मलाई धेरैले त्यो केटालाई फिल्म नदेउ बिगार्न सक्छ , वा बिगार्यो होला भनेका थिए । तर , तिमीले कृतिलाई न्याय गर्यौँ । धन्यवाद ।’ पदम देवकोटासँग भएको कुराकानी निर्देशक देउजाले सम्झिए । त्यसपछि लगातार व्यसायिक सफल फिल्म निर्देशन गरेका देउजाको सम्झिने फिल्मको अग्रपंक्तिमामा भने ‘मुना मदन’ नै आउँछ ।

उनले झन्डै दुई दशक अगाडी फिल्म निर्देशन गरेको भएता पनि अहिले पनि सोही फिल्मकै चर्चा हुन्छ । किनकी फिल्म नेपाललाई प्रतिनिधित्व गर्दै ओस्कारसम्म पुगेको थियो । त्यति मात्र नभई हलिउडमा एक फेस्टिभलमा स्क्रिनीङ समेत भएको थियो । ‘मुना मदन म रहे पनि न रहे पनि रहिरहने फिल्म हो । त्यस्तै मैले झिँगेदाउ पनि बनाउने प्रयाश गरेको छु’ ज्ञानेन्द्रले भने । उनले यो कथा रुचाएको धेरै भइसकेको छ । उनलाई मुख्य सहायक निर्देशक भएर काम गर्दा नै यो कथालाई पर्दामा ल्याउने चाहना थियो । त्यसैले उनले बल्ल यसलाई पर्दामा ल्याए ।

यसपटक उनले कमब्याकमा कृति रोजेका हुन् । स्वर्गीय भीमनिधि तिवारीको कृति ‘झिँगेदाउ’ मै आधारित रहेर निर्माण भएको फिल्मलाई उनको परिवारले समेत रुचाए । फिल्मको प्रिमियर र त्यसपछि भइरहेका शोहरुमा भीमनिधि साहित्य समितिका व्यक्तिले समेत फिल्म हेरिरहेका छन् । डाक्टर बेन्जु शर्माले फिल्ममा कृतिको मर्म प्रष्ट देखिएको बताइन । ‘फिल्म कृतिकै मर्ममा रहेर तयार पारिएको रहेछ । खुसी लाग्यो कृतिलाई फिल्मको रुपमा पर्दामा हेर्न पाउँदा’ उनले भनिन् । साहित्यकार डाक्टर शर्मा स्वर्गीय तिवारीकी छोरी हुन् । उनले ७० वर्ष अगाडीको सोसाईटीलाई बुझेर लेखिएको कथा अहिले पनि सार्थक रहेको बताइन । ‘कसरी एउटा सामान्य निहूमा सुरु भएको झगडाले घर समेत तोड्न सक्छ भन्ने यसमा देखाइएको छ’ उनले भनिन् ।

साहित्यकार शर्माको छोरा जुहार पाण्डेले पनि फिल्म राम्रो बनेको प्रतिक्रिया दिए । हजुरबुवाको फिल्म हेरेपछि उनले सार्वजनिक रुपमै सामाजिक सञ्जाल मार्फत किताबको कथालाई शब्दमा दुरुस्तै उतारेको बताए । ‘हजुरबुवाको कथा किताबमा जे जस्तो थियो । फिल्ममा दुरुस्तै उतारिएको छ । म सहित मेरो सम्पूर्ण परिवारको तर्फबाट ज्ञानेन्द्र दाईलाई शुभकामना’ उनले लेखेका छन् । फिल्मले विकेन्ड मात्र नभई वीकडेजमा पनि दर्शकको साथ् पाएपछि निर्देशक देउजा दंग छ । पछिल्लो समय लगातार फिल्म निर्देशन गरिरहेका निर्देशकहरुको फिल्म असफल भइरहदा झन्डै सात वर्ष पश्चात कमब्याक गरेका निर्देशक देउजा दर्शक माँझ अब्बल सावित भए ।

‘यो कथा फिल्मकै लागि लेखिएको जस्तो छ । किनकी यसमा ड्रामा छ । यो पढ्दा नै कतै रमाइलो लाग्छ , कतै दुख लाग्छ अनि कतै कौतुहलता । यिनै कारणले मैले यसलाई फिल्ममा ल्याउने इच्छा राखेको थिए’ उनले भने । उनले झिँगेदाउ पढ्दानै त्यसले फिल्मी स्वाद दिएको बताए । उनले तात्कालिन समयमा जागिरे जीवनले गर्दा यसलाई बनाउने समय पाएनन् । आफ्नो रिटायर्ड लाइफमा रहेका निर्देशक देउजाले फिल्म बनाउने निधो गरेपछि उनले साची राखेको ‘झिँगेदाउ’ नै रोजे ।

केकी अधिकारी, आँचल शर्मा , मुकुन भुषाल , कुशल विष्ट , हिउँवाला गौतमको मुख्य अभिनय रहेको फिल्म भिमनिधी तिवारीको यही नामको कथामा आधारित रही निर्माण गरिएको हो । कथालाई पटकथामा रुपान्तरण गर्ने काम प्रदीप भारद्धाजले गरेका हुन् । फिल्ममा केकी अधिकारीले जेठानी र आँचलले देउरानीको भूमिका निर्वाह गरेका छन् । मुकुस भुसाल र कुशल बिष्ट दुवैले श्रीमान्को भूमिका निर्वाह गरेका छन् ।

भीमनिधि तिवारीको कृति ‘झिँगेदाउ’मा आधारित फिल्मले दुई दाजुभाई र देउरानी-जेठानीको पारिवारिक झमेलाको कथा भन्छ । कपनगढी सिनेमा र फिल्म क्रु नेपालको व्यानरमा निर्मित फिल्ममा अर्जुन पोखरेलको संगीत, विष्णु घिमिरेको छायांकन, रोशन श्रेष्ठको एक्सन र मित्रदेव गुरुङको सम्पादन छ ।सुलभ प्रतिक देउजा र समिक्षा देउजाले निर्माण गरेको फिल्ममा सुशील दाहाल र इश्वर घिमिरेको सह – निर्माण छ ।

कमेन्ट गर्नुहोस्