सेलेब्स रिभ्यू : ‘मौलिक नेपालीमा ऐना झ्यालको पुतली’

फिल्म । केहि दिन यता स्क्रिनीङ भईरहेको ‘ऐना झ्यालको पुतली’ ले प्रसंसा बटुलिरहेको छ । गत सोमबार साझ फिल्म हेर्न उपस्थित कलाकार तथा साहित्यकारले ‘ऐना झ्यालको पुतली’ हेरिरहँदा आफ्नै कथा हेरिरहे जस्तो महसुस भएको बताएका छन् । फिल्मको कथा, निर्देशन र कलाकारको प्रशंसा गरेका फिल्मकर्मी तथा साहित्यकारले फिल्मले आफूहरूकै बालापन दुरुस्त उतारेको प्रतिक्रिया दिएका थिए ।

दिदी भाई बीचको कथा भन्ने फिल्म हेरेपछि गायिका आनी छोइङ डोल्माले फिल्म असाध्यै सुन्दर बनेको प्रतिक्रिया दिईन् । ‘मैले आजसम्म हेरेका नेपाली फिल्ममध्ये सबैभन्दा सुन्दर लाग्यो । यो फिल्म सबै स्कुलले आफ्ना विद्यार्थीलाई देखाउनु पर्छ । यो फिल्म हाम्रो सामाजिक इतिहासको दस्तावेज हो,’ आनीले भनिन् ।

फिल्मलाई दोस्रो पटक हेर्न आइपुगेका एमाले नेता रघुजी पन्तले ‘ऐना झ्यालको पुतली’ नेपाली फिल्म कस्तो हुनुपर्छ भन्ने प्रश्नको जवाफ रहेको बताए ।‘यो नेपाली टेस्टको अर्गानिक कथा हो। नेपाली सिनेमा कस्तो हुनुपर्छ भन्ने प्रश्नको जवाफ खोजिरहेका हामी सबैका लागि जवाफ हो,’ नेता पन्तले भने । साहित्यकार नयनराज पाण्डेले फिल्मलाई ५ मा ५ रेटिङ दिँदै फिल्म हेर्दा आफूलाई डेढघन्टा मौन साधना गरेको महसुस भएको प्रतिक्रिया दिए । ‘कथा भन्ने शैली यति सहज त यसअघि मैले नेपाली फिल्ममा विरलै देखेको थिएँ या सायद देखेकै थिइनँ । फिल्मले पीडाभन्दा पनि हाम्रो दिमागमा ‘प्रश्न’ उमार्दोरहेछ । सुन्दर सुइटरझैं बुनिएको पटकथा र बुलन्द निर्देशनले यो सिनेमालाई भव्य उचाइ दिएको छ । ’ उनको प्रतिक्रिया थियो ।

‘नुमाफुङ’ र ‘मुकुन्डो’पछि अर्थात् झन्डै २० वर्षपछि ‘ऐना झ्यालको पुतली’ मेरो लागि सबैभन्दा बढी सन्तुष्टि दिने नेपाली फिल्म भइदिएको छ । अर्ग्यानिक वा मौलिकताका नाममा बनिरहेका आलाकाँचा फिल्महरुको डंगुरमा यो सगरमाथाझैं अग्लो र चम्किलो बनेर आइपुगेको छ,’ उनले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै लेखेका छन् ।

दीपक राज गिरी, दीपाश्री निरौला, केकी अधिकारी, प्रकाश सपुत आदिले पनि फिल्ममा आफूलाई नै पाएको बताउँदै ‘ऐना झ्यालको पुतली’ उत्कृष्ट रहेको प्रतिक्रिया दिएका थिए । आउँदो शुक्रबार प्रदर्शन हुने तरखरमा रहेको फिल्ममा सुजित बिडारीको लेखन तथा निर्देशन रहेको छ । संखुवासभामा त्यहीँकै स्थानीय कलाकारलाई लिएर बनाइएको फिल्मले उच्च शिक्षा लिन चाहाने किशोरी सपनालाई शिशाको झ्यालमा अड्किएको पुतलीको विम्ब सादृश्य वर्णन गरेको छ ।

कमेन्ट गर्नुहोस्