‘ऐना झ्यालको पुतलीसँगै दर्शकले भावनात्मक यात्रा गर्नु हुन्छ’

फिल्म । निर्देशक सुजित बिडारीले प्रदर्शोन्मुख फिल्म ‘ऐना झ्यालको पुतली’ले आफ्नो अनुभवजन्य भोगाइको परिणाम रहेको बताएका छन् । डेब्यु निर्देशन बिडारीको फिल्मलाई हेर्नेले तारिफ गरिरहेका छन् । यसले स्वदेश प्रदर्शन अगावै विदेशमा केहि महत्वपूर्ण फेस्टिभलमा समेत आफ्नो अब्बल उपस्थिति देखाईसकेको छ । यसैले गर्दा पनि नेपाल प्रदर्शनमा एक वर्गको दर्शकले यसलाई प्रतीक्षा गरिरहेका छन् ।

त्यसो त उनले यसलाई फिल्म बनाउने भनेर तयारी भने गरेका थिएनन् । उनले यसलाई ६/७ पेजमा कथा बनाएका थिए । ‘के गर्ने के लेख्ने भन्ने अलमलमै मैले यसलाई सानो कथाको स्वरूप दिए । किन आफ्नै , आफ्नो समाजको भोगाई नलेख्ने भनेर यसको सुरुवात गरेको हुँ’ निर्देशक बिडारीले भने । उनले लेखिएको कथा केहि नजिकका साथीलाई पढ्न दिए । उनलाई आफ्नो बालापन अरुले कसरी बुझ्ने होला ? भन्ने दुविधा थियो । यद्दपि कथा पढ्ने अधिकाँसले ‘युनिभर्सल स्टोरी’ वा भोगाई भनेपछि उनलाई फिल्म बनाउने ‘कन्फिडेन्ट’ आयो ।

‘सबैले कथासँग आफूलाई कनेक्ट गरेपछि मैले यसलाई फिल्को स्वरूप दिदै स्क्रिप्ट तयार गरे । फिल्मलाई संखुवासभामा छायांकन गरे । डेब्यु फिल्म भएकाले यसको प्रोसेस मेरो लागि नयाँ छ । अनुभूति नयाँ छ’ उनले भने । ‘ म आमा र दिदीहरूको संघर्ष हेरेर हुर्किएँ । यो फिल्मलाई मेरो भोगाइको प्रतिविम्ब भन्दा पनि हुन्छ । फिल्ममा देखिने आमा, दिदी भाइ मेरै परिवारका सदस्य हुन् । यो कथा म जस्तै धेरै परिवारको कथा हो,’ उनले भने, ‘मैले जसरी यो उमेरमा आएर आमा र दिदीहरूको संघर्षलाई हेरेँ त्यसैगरी फिल्म पनि भाइको आँखाबाट आमा र दिदीले गरेको संघर्षमा साक्षी बसेको कथा हो ।’

उनी फिल्मको पात्रसँग पर्दा बाहिर हलको कुर्सिमा रहेका दर्शकले यात्रा गर्नेमा विश्वस्त छन् । ‘यो म जस्तै धेरैको भावनात्मक यात्रा हो । यसमा दर्शक सजिलै कनेक्ट हुँदै यात्रा समेत गर्नु हुनेछ’ निर्देशक बिडारीले भने । उनी यसलाई ‘अनेस्ट एटेमप्ट’ भन्छन् । किनकी यसमा उनले एक्टर भन्दा पनि नन एक्टरसँग काम गरेका छन् । फिल्ममा सिरु बिष्ट, कञ्चन चिमरिया, दिनेश खत्री शीर्ष भूमिकामा छन् । फिल्ममा सिरु बिष्टबाहेक बाँकी सबै कलाकार नन एक्टर हुन् ।

निर्देशक तथा कास्टिङ निर्देशकले संखुवासभाका स्कुलबाट अडिसन गरेर उनीहरूलाई अभिनयका लागि तयार गराएका हुन् । निर्देशक बिडारीले फिल्मलाई यथार्थसँग जोड्न नन एक्टर लिएको बताए । सहरमा हुर्किएका व्यावसायिक कलाकारबाट गाउँले जनजीवन विश्वसनीयताका साथ देखाउन सम्भव नहुने ठम्याइसहित नयाँ कलाकार लिएर काम गरेको उनले प्रस्ट्याए । यद्दपि नन एक्टरलाई पर्दामा एक्सन कट गर्न उनलाई सहज भने थिएन ।

‘पहिलो कुरा त नन–एक्टरसँग काम गर्न गाह्रो हुनेरैछ भन्ने थाहा पाएको भए सायद काम गर्दिनथेँ होला,’ उनले ठट्यौली गर्दै भने, ‘मेरो फिल्मले गाउँको पनि अलि पुरानो समयको कथा भन्छ । गाउँको चरित्रले गर्ने गतिविधिमा कुनै कमजोरी नहोस् भनेर त्यही परिवेशमा हुर्केका चरित्रलाई कलाकार बनाउने निर्णय गरेका थियौँ । उहाँहरूले मेरो सोचलाई सार्थक बनाएको महसुस गरेको छु ।’

दक्षिण कोरियाको बुसान फिल्म फेस्टिभलको न्यू करेन्ट सेक्सनमा छानिने पहिलो नेपाली फिल्मको रेकर्ड बनाएको फिल्मबाट निर्देशक बिडारीले ढाका इन्टरनेसनल फिल्म फेस्टिभलमा उत्कृष्ट निर्देशकको अवार्ड जितेका थिए । त्योबाहेक फिल्म एसिया प्यासिफिक स्क्रिन अवार्ड र जेलिन अवार्डमा छानिएको थियो । स्वीजरल्यान्डको फ्रिवर्ग इन्टरनेसनल फिल्म फेस्टिभलमा समेत प्रदर्शन भएको फिल्मलाई स्वीजरल्यान्डका थुप्रै स्कुलमा देखाइएको थियो । कोरोना भाइरसको महामारीका कारण अधिकाँस फेस्टिभलहरु अनलाइन भइरहदा यो फिल्म ‘ऐना झ्यालको पुतली’ भने अफलाइन भइरहेका फेस्टिभलमा मात्र सहभागिता जनाएको थियो ।

कमेन्ट गर्नुहोस्