‘साँघुरो सोच लिएर फिल्म बनाउन छाडौँ’

फिल्म । सुदर्शन थापाको डेब्यु लभस्टोरी फिल्म ‘मेरो एउटा साथी छ’ मार्फत भयो । कागबेनी , सानो संसार दर्शक माँझ पुगिसक्दा उनी आर्यन सिग्देल र नम्रता श्रेष्ठलाई लिएर दर्शक माँझ आए । डिजिटल प्रविधिमा बनेको फिल्मले दर्शकको मन जित्यो । संगीत , कोरियोग्राफी , सिनेम्याटोग्राफी लगायतका पक्ष त्यसबेला आइरहेका रेगुलर फिल्म भन्दा फरक थिए । त्यसपछि सुदर्शन नयाँ पुस्ताको लभ स्टोरी देखाउने निर्देशकका रुपमा चिनिए । उनको दोस्रो फिल्म के हुन्छ ? भनेर दर्शक मात्र नभई मिडियाले प्रतीक्षा गरे । त्यसपछि के यो माया हो , मेरो लभ स्टोरी , धन्दा , मधुमास , चंखे शंखे पंखे , प्रेम गीत , मा यस्तो गीत गाउँछु सिरिजको निर्देशन गरेका निर्देशक थापा निर्देशित नयाँ फिल्म ‘सम्हालिन्छ कहिले मन’ आउँदो भदौ १७ मा प्रदर्शन हुँदैछ ।

‘पहिलो फिल्म गर्दा नै मैले मेकिङ्ग बलियो हुनुपर्छ भनेर त्यस किसिमको मेहनत गरेको हुँ । हामीले कन्टेन मात्र फोकस गर्ने होइन । मेकिङ्गमा पनि उत्तिकै ध्यान दिनु पर्छ’ सुदर्शनले भने । कोरोना भाइरसको महामारीका कारण फिल्मको रिलिजमा केहि ढिलाई भएको हो । फिल्ममा आकाश श्रेष्ठ , पूजा शर्मा र डेब्यु ब्वाई सोनाम तोप्देन सेन्ट्रल भूमिकामा छन् । सुगम पोखरेलले गाएको गीत ‘सम्हालिन्छ कहिले मन’ कै शब्दलाई लिएर निर्माण गरिएको फिल्मले यो नामलाइ अझै अगाडी बढाउने निर्देशक थापाले बताए । त्यसो त निर्देशक थापाले सुगमकै गीतबाट मेरो एउटा साथी छ , के यो माया हो जस्ता फिल्म बनाइसकेका छन् ।

‘सम्हालिन्छ कहिले मन मलाइ एकदमै मन पर्ने गीत हो । म यो गीत प्राय सुनिरहेको हुन्छु । यसका शब्द मेरो मनको नजिक छन् । त्यसैले यहिँ गीतको नाम सापटी लिदैं फिल्म बनाएको हुँ’ उनले भने । उनले गीत झैँ फिल्मको कथा बुनिएको बताए । ‘फिल्मलाई ठूलो क्यान्भासमा खिचिएको छ । त्यसमाथि गायक सुगम पोखरेल आफैं हाम्रो फिल्मसँग जोडिनुभएकाले पनि मानिसहरुको अपेक्षा धेरै हुन गएको छ । उहाँहरुलाई भन्न चाहन्छु, त्यो ब्रान्ड अझै धेरैमाझ पुग्नेछ’ निर्देशक थापाले भने ।

त्यसो त गीत सार्वजनिक भएपछि उनले सर्जकसँग प्रतिक्रिया लिईसकेका छन् । दर्शक झैँ सर्जक पनि रि-क्रिएटमा हर्षित सुनिएको उनले जनाए । फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित छ । ‘फिल्म भनेको स्टोरीमात्रै होइन । स्टोरीलाई गरिने भिजुअल प्रेजेन्टेशन हो’ निर्देशक थापा भन्छन् ,’ फिल्ममा डायस्पोराको लभ स्टोरी देखाएका छौँ । फिल्मले दर्शकको आँखालाई शितलता पनि दिनेछ ।’ उनले फिल्म गर्ने सहमति दिनु अगाडी नै बेलायतको रमणीय दृश्यलाई फिल्मकर्मी बनेर खिच्न पाउनु पर्ने माँग राखेका थिए । किनकी उनी लुकेर बेलायतलाई एक्सन-कट भन्ने मुडमा थिएनन् । फिल्ममा सरोज खनाल, धीरेन शाक्य, गौरी मल्ल कलाकारहरु पनि छन् । यसको ९५ प्रतिशत छायांकन बेलायतको रमणीय दृश्यमा गरिएको छ ।

फिल्म मार्फत सोनामले डेब्यु गर्दैछन् । निर्देशक थापाले कथा अनुसार नै सोनामको कास्टिङ भएको बताए । ‘हाम्रो कथाले सोनाम जस्तै कलाकार मागेको थियो । हामीले कुनै सम्झौता गर्न चाहेनौं’ निर्देशक थापाले भने । सोनामको टोन र उसको उपस्थितिलाई दर्शकले फिल्म हेरेपछि बुझ्ने उनको भनाइ छ ।

उनि अब दर्शकलाई मेकिङमै स्तरीयता महसुश हुने फिल्महरु तयार गर्नु पर्ने बताउछन् । ‘हाम्रो बजारबाटै आरआरआर, पुष्पा, केजिएफलगायत दक्षिण भारतीय फिल्मले ठूलो रकम लिएर गएका छन्, कन्टेन्ट त हाम्रा फिल्मको पनि कमजोर होइन । तर हामी मेकिङ पक्षमा चुकेकाले दर्शक तान्न सकेनौं । अहिलेका मल्टिप्लेक्स हल पहिलेका सिंगल थियटरको दाँजोमा निकै स्तरीय भइसकेका छन् । यस तथ्यलाई ध्यानमा राखेर हामीले फिल्म मेकिङ गर्नुको विकल्प छैन’ निर्देशक थापाले भने ।

उनी पछिल्लो समय मेकर्सको क्यानभास नै साँघुरो भएको बताउछन् । ‘नेपालमा बन्ने सबै फिल्म नेपालीपन बोकेका , नेपाली कथाकै हो । हामीले एकथरी फिल्मलाई मात्र नेपाली माटो सुहाउँदो भनेर व्याख्या गर्नु मलाइ ठिक लागेको छैन । हामीले मौलिक फिल्मलाई साँघुरो सोचका साथ् बनाउने भएकाले पनि दर्शक तानिनु भएको छैन’ उनले भने ।

सुदर्शन कन्टेन र मेकिङ्ग दुवै पक्ष बलियो हुनुपर्नेमा जोड दिन्छन । उनी दुवै पक्ष बलियो भए मात्र स्तरीय फिल्म दर्शकले पाउने बताउछन् । त्यसो त उनी फिल्म पछिल्लो समय आर्टिस्टको मात्र भनेकोमा असन्तुष्ट छन् । ‘फिल्म मेकर्सको हुन्छ । निर्देशकको हुन्छ् । तर , यहाँ कलाकारको मात्र भन्ने गरिन्छ । कलाकारलाई पर्दामा कसरि ल्याइन्छ भन्ने मेकर्समै भर पर्छ’ उनले भने ।

कलाकारको फिल्महरु केहि मेकर्ससँग गर्दा दर्शकले विश्वास गर्ने तर केहिमा नगर्ने देखिएको उनले बताए । ‘हामी आर्टिस्टको पछाडी लाग्छौँ । तर , उसलाई बनाउने मेकर्सको मेहनत गौण हुन्छ । केहि आर्टिस्ट व्यानरकै कारण दर्शक माँझ विश्वाशिलो पनि भएका छन्’ सुदर्शनले भने । लभ स्टोरीलाई पर्दामा भव्य देखाउने निर्देशक थापा आउँदो दिनमा अझैँ परिपक्क बन्ने सुनिए ।

‘मैले डेब्यु फिल्म देखि अहिलेसम्म केहि नकेहि सिक्दै आइरहेको छु । हामीलाई सिकाइले नै हो सुधार्दै जाने । आउँदो दिनमा काममा पक्कै परिपक्वता पाउनु हुनेछ’ उनले भने । उनी फिल्मलाई निर्देशकको दृश्य परिकल्पना भन्छन् । ‘स्क्रिप्ट पढ्नका लागि लेखिएको हो अर्थात् साहित्यकै स्वरुप हो । त्यो जब फिल्म बन्छ, तब त्यो हेर्नका लागि बनाइन्छ । त्यहाँ कन्टेन्ट, लोकेशन, सिनेमाटोग्राफी, साउन्डलगायत सबै पक्ष पर्छन् । हामीले कन्टेन्टमात्रै भनिरहदाँ मेकिङ राम्रो गर्न सकेनौं भने त्यसको कुनै अर्थ रहदैँन’ निर्देशक थापाले भने । एबी इन्टरनेसनलको प्रस्तुतिमा भिक्टर सिनेमा लिमिटेडले फिल्म निर्माण गरेको हो ।

तस्विर सौजन्य : ज्ञानु राई
कमेन्ट गर्नुहोस्