फिल्म । बक्सअफिसमा बम्पर व्यापार गरिरहेको सिनेमा ‘पशुपति प्रसाद २ : भष्मे डन’ दोस्रो सातामा प्रदर्शनरत छ । सिनेमा दोस्रो सातामा पनि उच्च शो संख्या र दर्शक साथसहित प्रर्दशन भैरहेको छ । समीक्षक र दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाएको सिनेमाले दोस्रो हप्तामा पनि अन्य कुनै नेपाली सिनेमा नभएकाको फाइदा उठाउँदै हलमा उच्च प्रथामिकताका साथ प्रदर्शन भैरहेको छ । सिनेमाले प्रदर्शनको पहिलो दिन २ करोड ४० लाख ग्रस कलेक्सन गरेको थियो । त्यसपछि पनि सोही गतिमा सिनेमा प्रदर्शन भैरहेको छ ।
दसैँ विदाका कारण हलबाट पूर्ण रुपमा व्यापारको विवतरण नआएकाले पहिलो दिनपछि सिनेमाको बक्सअफिस कलेक्सन रिपोर्ट सार्वजनिक गर्न नसकिएको वितरक करण श्रेष्ठले बताए । दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको सिनेमामा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ । सिनेमामा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री बर्षा सिवाकोटी पनि विशेष भुमिकामा देखिएका छन् ।
टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको सिनेमालाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । सिनेमाको निर्माता पनि उनी स्वयं हुन् । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, विपिन मल्लको सम्पादन, कृष्ण भारद्वाजको संगीत रहेको सिनेमाका प्रोडक्सन डिजाइनर शंकर पाण्डे हुन् ।