फिल्म । सगरमाथा आरोहण र त्यसक्रमको प्रेमकथामा आधारित नेपाली फिल्म ‘जेरी अन टप’ लाई राम्रो बनाउन बाँकी रहेका दिनहरूमा समेत सुरुआती दिनको झैँ मेहनतका साथ काम गरिरहेको निर्माता सरोज न्यौपानेले बताएका छन् । ट्रेलर सार्वजनिक गर्न आयोजना गरिएको कार्यक्रममा उनले फिल्मलाई सिनेम्याटिक फिल दिने गरी तयार गर्न कुनै सम्झौता पनि नगरिएकाले पनि निर्माणको समय लम्बिएको उनले जानकारी दिए ।
उनले भने,‘हामीले बनाउन खोजेको फिल्मका लागि कुनै पक्षमा सम्झौता गरेनौँ । हाम्रो कलाकारले पनि सधै राम्रो गर्ने प्रयास स्वरूप काम गर्नुभयो । सबैको सपना अब पर्दामा देखिंदैछ । अन्तिम समयमा छौँ, तर पनि हामीले मेहनत उत्तिनै गरिरहेका छौँ ।’
निर्माता न्यौपानेले फिल्मको बजेटको बारेमा नप्रस्ट्याएता पनि फिल्मको सार्वजनिक सामग्रीले ‘भव्य’ देखाएको छ । युवापुस्ताको कथामा नेपालको सौन्दर्य देखिने एउटा स्तरीय फिल्मका रुपमा यसको ट्रेलरलाई प्रतिक्रिया प्राप्त भएको छ । उनले उक्त फिल्म आगामी असोज ३१ गतेदेखि नेपालसँगै अस्ट्रेलिया, संयुक्तराज्य अमेरिका, क्यानाडा लगायतका देशमा समेत प्रदर्शन हुने जानकारी दिए ।
फिल्ममा भुवन केसी, अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, केदार घिमिरे ‘माग्नेबुढा’, उषा खड्गी लगायतका कलाकारहरूले अभिनय गरेका छन् ।अनन्या फिल्म्स प्रोडक्सनबाट निर्मित ‘जेरी अन टप’ लाई सुयोग गुरूङले निर्देशन गरेका छन् । यस फिल्ममा हेमराज विसीले कथा लेख्न, विश्वास तिम्सिनाले पटकथा लेख्न र दुलिप रेग्मीले छायांकन गरेका छन् । यो फिल्मलाई रीच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् ।











