फिल्म । कोरोना भाइरसको महामारी सुरु भएसँगै हलहरु बन्द पनि भए । केहि हलहरु सँधैको लागि नै । यद्दपि कोरोना भाइरसको तेस्रो लहरको प्रभाव न्यून भएसँगै फिल्म हेर्न दर्शक हलमा फर्किएपछि नयाँ हलहरु खुलिरहेका छन् । चैत्र ११ गतेबाट गोपीकृष्णकै तीन हल सञ्चालनमा आउने भएका छन् । नेपाली दर्शकको राम्रो भिडभाड हुने गोपीकृष्ण मुभिज बन्द हुँदा फिल्मकर्मीलाई त घाटा लाग्यो नै दर्शक पनि निराश भए । काठमाण्डौको चाबहिलमा रहेको गोपिकृष्ण हल भत्काइयो ।
७ वटा पर्दा रहेको गोपीकृष्णमा गोपि, कृष्ण, राधा र मिरा हल भत्काएको हो । त्यसपछि त्यहाँ दर्शकले फिल्म हेर्न पाएनन् । यद्दपि शुक्रबारबाट त्यहाँ दर्शकले फिल्म हेर्न पाउनेछन् । सपिङ मल बनाउने योजना अनुसार हल भत्काइएता पनि यहि चैत्र ११ बाट तीन वटा हलमा फिल्म प्रदर्शन हुने गोपीकृष्ण सिनेमाका जेनेरल म्यानेजर प्रदीप दाहालले बताए ।
यी हलहरु अब आरजीबी थिममा सञ्चालनमा आउने छन् । आरजीबी भनेको रेड, ग्रिन र ब्लु हो । यी तीन कलर चलचित्रमा प्रयोग हुने प्राइमरी कलर मध्ये पर्छन् । गोपीकृष्ण सेन्टल कम्प्लेक्स निर्माणका लागि साबिकको गोपीकृष्ण हल भत्काइएको छ । सँगै रहेका ३ हलहरु भने बाँकी नै छन् । गोपीकृष्णले तिनै तीन हलको प्रविधि र भौतिक पूर्वाधारमा समेत उल्लेख्य सुधार गरि हल सञ्चालन गर्न लागेको हो । अत्याधुनिक प्रविधिका साथ सञ्चालनमा आउन लागेको जनाइएका हललाई आरजीबी थिममा सञ्चालन गरिने छ ।
कुल ५०० सिट क्षमताका साथ सञ्चालनमा आउने हलमा हरेक घण्टा शो शुरु हुने जनाइएको छ । बिहान आठ बजेबाट शुरु हुने शो बेलुका ८ बजेसम्म सञ्चालन हुनेछ । ३ हलमा गरि दैनिक १२ वटा शो हुनेछन् । शुक्रबारबाट आरआरआर, द कश्मिर फाइल्स र चिसो एष्ट्रे प्रदर्शनसँगै हल पुन सञ्चालनमा आउने गोपीकृष्ण मुभिजका निर्देशक निरक पौडेलले जनाएका छन् ।










